शीर्षकहरू

लान्द्रुक मोदीमा जुट्यो लगानी, माछापुच्छ्रे बैंकको नेतृत्वमा ६ वटा बैंकले लगानी गर्ने

लान्द्रुक मोदीमा जुट्यो लगानी, माछापुच्छ्रे बैंकको नेतृत्वमा ६ वटा बैंकले लगानी गर्ने

काठमाडौं । सिंगटी हाइड्रो इनर्जी लिमिटेडको मुख्य लगानी रहेको कास्कीस्थित अन्नपूर्ण गाउँपालिकामा निर्माण हुने ८६.५९ मेगावाटकाे लान्द्रुक मोदी जलविद्युत आयोजनामा वित्तीय व्यवस्थापन सम्पन्न भएको छ । सिंगटी हाइड्रो इनर्जी लिमिटेडको मुख्य लगानी रहेको लान्द्रुक मोदी जलविद्युत आयोजनामा माछापुच्छ्रे बैंकको नेतृत्वमा ६ वटा बैंकले लगानी गर्ने गरी वित्तीय व्यवस्थापन सम्पन्न भएको हो । 

आइतबार आयोजनाको प्रवर्धक कम्पनी अन्नपूर्ण विद्युत् विकास प्रालिका कार्यकारी अध्यक्ष बटु लामिछाने र माछापुच्छ्रे बैंक लिमिटेडको तर्फबाट बिनित कुमार झा ले लगानी सम्झौतामा हस्ताक्षर गर्दै वित्तीय व्यवस्थापन टुङ्ग्याएका हुन् । १६ अर्ब ४० करोड लागत अनुमान गरिएको आयोजनामा बैंकहरुले ७५ प्रतिशत अर्थात् १२ अर्ब २० करोड लगानी गर्ने छन् भने बाँकी २५ प्रतिशत सिंगटी हाइड्रो सहित प्रवर्द्धक कम्पनी र अन्य प्रमोटर लगानीकर्ताहरूले व्यवस्थापन गर्ने सिंगटी हाइड्रो इनर्जी लिमिटेडले जनाएको छ । 

आयोजनामा ग्लोबल आइएमइ, एभरेष्ट, एसबिआई, कृषि विकास र लुम्बिनी विकास बैंक समेत सहभागी हुनेछन् । अन्नपूर्ण विद्युत् विकास प्रालिद्वारा प्रवर्द्धित लान्द्रुक मोदी जलविद्युत आयोजना कास्की जिल्लाको अन्नपूर्ण गाउँपालिकामा पर्दछ । जलविद्युत विज्ञहरूका अनुसार यो आयोजना विश्वकै तेस्रो हाई हेड प्रोजेक्ट र नेपालको हकमा भने पहिलो अर्थात् सबैभन्दा धेरै उचाइ भएको आयोजना हो । 

उक्त आयोजनाको हेडवक्सदेखि विद्युत् गृहसम्मको वास्तविक उचाइ १४ सय १८ मिटर रहेको छ । नेपाली जलविद्युत आयोजनाहरूमा यो लेभलको उचाइ सबै भन्दा धेरै हो । नेपाल विद्युत् प्राधिकरणसँग यस अघि नै विद्युत् खरिद सम्झौता पिपिए भइसकेको यो आयोजनामा आगामी कात्तिक महिनाबाट भौतिक निर्माणको काम सुरु हुने प्रवर्द्धक कम्पनी अन्नपूर्ण विद्युत् विकास प्रालिले जनाएको छ ।