शीर्षकहरू

हिमालयन ऊर्जा विकास कम्पनीले असोज ७ गतेदेखि अवितरित हकप्रद शेयर लिलामीमा विक्री गर्दै

हिमालयन ऊर्जा विकास कम्पनीले असोज ७ गतेदेखि अवितरित हकप्रद शेयर लिलामीमा विक्री गर्दै

काठमाडौं । हिमालयन उर्जा विकास कम्पनी लिमिटेडले असोज ७ गतेदेखि १४ गतेसम्म अवितरित हकप्रद शेयर लिलामी प्रक्रियाबाट विक्री गर्ने भएको छ । कम्पनीले शतप्रतिशत हकप्रद शेयर जारी गर्दा विक्री हुन नसकेको १४ लाख ४६ हजार ३५९ कित्ता शेयर लिलामीमा विक्री गर्न लागेको हो । 

कम्पनीले ९९ लाख कित्ता हकप्रद शेयर विक्री खुला गर्दा ८४ लाख ५३ हजार ६४१ कित्ता हकप्रद शेयर मात्र विक्री भएको हो । यस कम्पनीले असार १९ गतेसम्म कायम शेयरधनीहरूका लागि प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यका ९९ लाख कित्ता हकप्रद शेयर साउन २९ गतेदेखि भदौ १२ गतेसम्म विक्री खुला गरी भदौ २५ गते बाँडफाँट गरेको थिथयो । 

लिलामीमा आउने शेयरको मूल्य १०० रुपैयाँ तोकिएको छ । तोकिएको मूल्य वा सोभन्दा बढी मूल्य अंकित गरी तोकिएको मितिभित्र विक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेडको कार्यालय नक्साल, काठमाडौं र नबिल बैंकको शाख कार्यालयहरू विराटनगर, जनकपुर, भक्तपुर, पोखरा, कोहलपुर, सुर्खेत र महेन्द्रनगरमा बोलपत्र पेश गर्नुपर्नेछ । बोलपत्र पेश गर्दा न्यूनतम १०० कित्तादेखि अधिकतम सम्पूर्ण कित्तासम्म माग गर्न सकिने व्यवस्था छ ।

यस कम्पनीले दुई योजनाहरूबाट विद्युत विक्री गरिरहेको छ । कम्पनीले रामेछाप जिल्लामा ७ मेगावाट क्षमताको अपर खिम्ती जलविद्युत आयोजना र १२ मेगावाट क्षमताको उपल्लो खिम्ती जलविद्युत आयोजनाबाट विद्युत विक्री आम्दानी गर्दै आएको हो ।

हकप्रद शेयर निष्कासनबाट संकलित पूँजी कम्पनीले विभिन्न बैंकबाट लिएको दिर्घकालिन ऋणको भुक्तानी गर्ने बताएको छ । कम्पनीले शतप्रतिशत हकप्रद शेयर निष्कासनका लागि नियामक निकाय नेपाल धितोपत्र बोर्डबाट असार ७ गते अनुमति पाएको थियो भने हकप्रद शेयर निष्कासन प्रयोजनका लागि असार २० गते एक दिन बुक क्लोज गरेको थियो ।