शीर्षकहरू

आहा ! डोल्पो [फोटोफिचर]

आहा ! डोल्पो [फोटोफिचर]
सबै तस्वीर : विक्रम सिंह

काठमाडौं । डा दामोदर पुडाशैनीको एक नियात्रा सङ्ग्रह छ 'डोल्पो ओ डोल्पो' । त्यहाँ डोल्पाको प्रकृति, संस्कृति, रहनसहन, चालचलन, डोल्पामा बस्दाका अनुभूति, देखेका दृश्यको निबन्धनात्मक नियात्राहरू सङ्ग्रहित छन् ।

उनले पुस्तकमा भनेजस्तै त्यहाँको जीवन, जगत् र प्रकृति रहस्यमयी छ । जादूयी छ । त्यहाँ पुग्ने सबैको चित्ताकर्षण गर्छ डोल्पोले । डोल्पामा पनि उपल्लो डोल्पा जिल्लाकै चर्चित ठाउँ हो । यहाँका पाखाहरू हिउँद याममा सेताम्मे हिउँले छपक्कै छापिन्छन्, वर्षायाममा खेती किसानीमा व्यस्त हुन्छन् डोल्पालीहरू । उपल्लो डोल्पाको आफ्नै पृथक विशेषता छ । ११औँ शताब्दीमा स्थापना भएको शे–गुम्बा होस् अथवा यहाँका सुख्खा पहाडले घेरिएको बस्ती, यहाँ पुग्ने धेरैको मनमा आनन्दको लहर उठ्छ । शे फोक्सुण्डो ताल, शे फोक्सुण्डो निकुञ्ज, शे-गुम्बा, छार्का भोट र धो तराप बस्ती, सुलीगाड झरनालगायत थुप्रै सम्पदाका कारण यहाँ यथेष्ट सम्भावनाहरू रहेका छन् । 

३६ सय भन्दा माथि उचाइका छार्कामा सार्का, धोमा तराप,  तिन्जेमा पाञ्जाङ र साल्दाङमा नाङखोङ भ्यालीले यहाँको सुन्दरतामा छुट्टै रङ भरेका छन् । यी भ्यालीहरूले उपल्लो डोल्पाको सौन्दर्यमा महत्त्वपूर्ण भूमिका खेलेका छन् । डोल्पासम्मको पदयात्राले बेदाग प्राकृतिक सौन्दर्य र पुरानो संस्कृति परम्परा भएका निर्दाेष भोटे समुदायहरूको वास्तविकता अनुभव हासिल गर्न सकिन्छ । 

नेपालको सबैभन्दा ठूलो जिल्ला समेत रहेको डोल्पाको उपल्लो डोल्पामै पर्छ मनमोहक शे-फोक्सुण्डो । प्राकृतिक रूपमा सौम्य, सुन्दर, सम्पदा, भाषिक र जैविक विविधता, शान्त एवं स्नीग्ध भए पनि राज्यको पछौटेपनको कारण डोल्पा पछि परेको छ । आउनुहोस् आज हामी तस्वीरमा उपल्लो डोल्पाको यात्रा गरौँ ।