शीर्षकहरू

सामसुङ र मोबाइल व्यवसायीबीचकाे विवादमा जुट्यो सहमति, आन्दोलन स्थगित

सामसुङ र मोबाइल व्यवसायीबीचकाे विवादमा जुट्यो सहमति, आन्दोलन स्थगित

काठमाडौं । नेपाल मोबाइल व्यवसायी महासंघ र सामसुङ नेपालबीच भएको विवाद मिलेको छ । महासंघ, मोबाइल फोन इम्पोर्टर एसोसियसन र नेपाल मोबाइल वितरक संघकाबीच भएको त्रिपक्षीय सहमति भएको हो । 

मार्जिनको विषयलाई लिएर व्यवसायीहरुले सामसुङ ब्राण्डका मोबाइलको भिजिबिलिटी बन्द गरेर आन्दोलन घोषणा गरेका थिए । सहमतिपछि उनीहरुले  आन्दोलनका कार्यक्रम स्थगित गरेका छन् । 

सहमतिमा महासंघका अध्यक्ष भरत भट्टराई, मोबाइल फोन इम्पोर्टर एसोसिएसनका अध्यक्ष दीपक मल्होत्रा र नेपाल मोबाइल वितरक संघका अध्यक्ष दिनेश चुल्यादोले हस्ताक्षर गरेका छन् । महासंघले उठाएको मार्जिन बढाउनुपर्ने विषयलाई एसोसियसन र संघले समर्थन गर्दै यसबारे आगामी मंसिर १३ मा ठोस निर्णय लिने सहमति भएको छ । 

संयुक्त रूपमा जारी विज्ञप्तिमा भनिएको छ, ‘असमझदारीपछि सृजित अवस्था, विभिन्न चरणमा भएका वार्ता र संवादपछि हामी तीनै निकाय (नेपाल मोबाइल व्यवसायी महासंघ, मोबाइल फोन इम्पोर्टर एसोसिएसन र नेपाल मोबाइल वितरक संघ) एकताबद्ध भएर मार्जिनलगायत तीनै निकायले उठाएका अन्य जायज मुद्दाहरूको विषयमा संयुक्त रूपमा अघि बढ्ने निष्कर्षमा पुगेका छौँ ।’

विज्ञप्तिमा महासंघले उठाएको मार्जिनको विषय तीनै निकायको आवश्यकताको विषय भएको भनिएको छ भने सो विषयमा आआफ्ना संस्थाका तर्फबाट आवश्यक तयारी गरी १३ मङ्सिर २०८१ अर्थात् आगामी २८ नोभेम्बरका दिन ठोस निर्णयमा पुग्ने गरि साझा सहमति बनेको उल्लेख छ । 

सुदूरपश्चिम प्रदेशको धनगढीमा आयोजित सामसुङ रिटेल मिट कार्यक्रममा आयोजक र व्यवसायीबिच विवाद भएको थियो । त्यसपछि महासंघले संघर्षका कार्यक्रम घोषणा गरेको थियो । जसअनुसार भाद्र २६ र २७ गते सामसुङ मोबाइलको भिजिबिलिटी बन्द गरिएको थियो । 

‘धनगढी घटनापछि सबै पक्षबाट भएका कमी कमजोरीलाई सुधार्दै अघि बढ्न हामी तयार रहेका छौँ । साथै सो घटनापछि व्यावसायिक वातावरण प्रतिकूल हुने गरी कुनै पनि काम कारबाही नहुने वातावरण बनाउन हामी सबै पक्ष सहमत भएका छौँ । हामी बिचमा भएका यी सहमतिपछि मोबाइल व्यवसायी महासंघले घोषणा गरेका सबै संघर्षका कार्यक्रम हाललाई स्थगित गरिएको सबै सरोकारवालामा जानकारी गराउँदछौं’ संयुक्त विज्ञप्तिमा भनिएको छ ।

पढौँ, यो पनिः 
-सामसुङ र मोबाइल व्यवसायीबीच विवाद चुलिँदैः सुदूरपश्चिममा किनबेच ठप्प, देशभर के होला ?
-भोलिदेखि देशभरका व्यवसायीले सामसुङ मोबाइल नबेच्ने
-व्यवसायीले हटाए पसलबाट सामसुङका मोबाइल