काठमाडौं । दशैंका लागि धेरैले नयाँ नोट साट्ने गर्छन् । तर, यस वर्षको दशैंमा भने नयाँ नोट साट्न नपाइने भएको छ । नेपाल राष्ट्र बैंकले नयाँ नोट नसाट्ने निर्णय गरेसँगै यस वर्षको दशैंमा नयाँ नोट नपाइने भएको हो ।
नेपाल राष्ट्र बैंकका अनुसार असोज १३ गतेदेखि भने सुकिला नोट मात्रै साटिने भएको छ । दशैंमा माग हुने साना दरका नोट सटहीको लागि यस वर्ष बैंकहरुको मुद्रा व्यवस्थापन विभाग, बैंकिङ विभाग र प्रदेशस्थित कार्यालयहरू (विराटनगर, जनकपुर, पोखरा, सिद्धार्थनगर, नेपालगन्ज र धनगढी)बाट सुकिला नोट असोज १३ गतेदेखि २२ गतेसम्म साटिने भएको छ ।
नेपाल राष्ट्र बैंकबाट इजाजतप्राप्त बैंक तथा वित्तीय संस्थाका शाखा कार्यालयहरूबाट समेत सुकिला नोट सटही गर्ने व्यवस्था मिलाइएको छ ।