शीर्षकहरू

सिईडिबि हाईड्रोपावरको ११ प्रतिशत बोनस शेयर प्रस्ताव

सिईडिबि हाईड्रोपावरको ११ प्रतिशत बोनस शेयर प्रस्ताव

काठमाडौं । सिईडिबि हाईड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले ११ प्रतिशत बोनस शेयर वितरणपछि ५४ दशमलव ५ प्रतिशत हकप्रद शेयर विक्री गर्ने भएको छ । भदौ २९ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले अघिल्ला दुई आर्थिक वर्ष ०७९/८० र ०८०/८१ को लागि कर वाहेक ११ प्रतिशत बोनस शेयर वितरण गर्ने निर्णय गरेको हो । 

कम्पनीले अघिल्ला दुई आर्थिक वर्षको वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरू पारित लगाएत बोनस र हकप्रद शेयर निष्कासनको प्रस्ताव पारित गर्न असोज २१ गते वार्षिक साधारण सभा गर्ने निर्णय समेत गरेको छ । कालिमाटी ब्याङ्क्वेट, कालिमाटी, काठमाडौंमा विहान १० बजे सभा गर्ने निर्णय कम्पनीले गरेको हो ।

सभाले चालू आर्थिक वर्षको लागि लेखापरिक्षक नियुक्ती र निजको पारिश्रमिक निर्धारणको विषय पनि टुङ्ग्याउनेछ । स्वतन्त्र सञ्चालकको नियुक्ति अनुमोदन र ५४ दशमलव ५ प्रतिशत हकप्रद शेयर निष्कासनका लागि आवश्यक सम्पूर्ण कामको जिम्मेवारी सञ्चालक समितिलाई दिने निर्णय पनि सभाले गर्नेछ । साधारण सभा प्रयोजनका लागि कम्पनीले असोज ७ गते एक दिन बुक क्लोज गर्न लागेको छ । 

बुक क्लोजको आधारमा असोज ६ गतेसम्म कायम शेयरधनीहरूले मात्र ११ प्रतिशत बोनस शेयर प्राप्त गर्नेछन् । हाल कम्पनीको चुक्तापूँजी ९३ करोड १७ लाख ४५ हजार रुपैयाँ छ । सोही पूँजीको आधारमा ११ प्रतिशत बोनस शेयर वितरणपछि कायम चुक्तापूँजीका आधारमा कम्पनीले हकप्रद शेयर निष्कासनको प्रक्रिया अघि बढाउनेछ ।