शीर्षकहरू

एभरेष्ट बैंकले दशैंअघि नै साधारण सभा सम्पन्न गर्दै, लाभांश पारित हुने

एभरेष्ट बैंकले दशैंअघि नै साधारण सभा सम्पन्न गर्दै, लाभांश पारित हुने

काठमाडौं । एभरेष्ट बैंक लिमिटेडले प्रस्तावित लाभांश सहित अन्य विविध प्रस्ताव पारित गर्न असोज २० गते ३०औं वार्षिक साधारण सभा बोलाएको छ । सभा आम्रपाली ब्याङक्वेट, भाटभटेनी, काठमाडौ.मा विहान ११ बजे सुरु हुने जानकारी कम्पनीले दिएको हो । सभाले प्रस्तावित १० प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि समेत ५ दशमलव ५३ प्रतिशत नगद लाभांश वितरणको लागि स्वीकृति प्रदान गर्नेछ । दशै अघिनै वार्षिक साधारण सभा सम्पन्न गरी कम्पनीले शेयधरनीहरूलाई दशै खर्च वितरण गर्ने तयारी गरेको हो । 

साधारण सभा प्रयोजनका लागि कम्पनीले असोज ८ गते एक दिन बुक क्लोज गर्न लागेको छ । बुक क्लोजको आधारमा असोज ७ गतेसम्म कायम शेयरधनीहरूले मात्र कम्पनीको लाभांश प्राप्त गर्नेछन् । लाभांश प्रस्तावसँगै गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरू पारित गर्नुका साथै चालू आर्थिक वर्षको लागि लेखापरिक्षक नियुक्त र निजको पारिश्रमिक निर्धारणको विषय समेत टुङ्ग्याउनेछ । 

बोनस शेयर वितरणपछि कम्पनीको पूँँजी बृद्धि हुने भएकाले सोही बमोजिम प्रबन्धपत्र तथा नियमावली संशोधनको प्रस्ताव पनि सभाले पारित गर्नेछ । साथै सर्वसाधारण शेयरधनीको तर्फबाट दुई जना सञ्चालक निर्वाचनको प्रस्ताव पनि सभाका लागि तय भएको छ । 

हाल कम्पनीको चुक्तापूँजी ११ अर्ब ७६ करोड ७९ लाख ३ हजार रुपैयाँ रहेको छ । सोही पूँजीका आधारमा कम्पनीले लाभांश वितरण गर्न लागेको हो । यस अघिका दुई आर्थिक वर्ष २० प्रतिशतभन्दा बढी लाभांश वितरण गरेको कम्पनीले यस वर्ष लाभांश घटाएको हो ।