शीर्षकहरू

ओरियण्टल होटल्सले ५.२६ प्रतिशत लाभांश दिने

ओरियण्टल होटल्सले ५.२६ प्रतिशत लाभांश दिने

काठमाडौं । ओरियण्टल होटल्स् लिमिटेडले गत आर्थिक वर्ष ०८०/८१ को मुनाफाबाट कुल ५ दशमलव २६ प्रतिशत लाभांश दिने भएको छ । भदौ २७ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले लाभांश वितरणको प्रस्ताव गर्दै असोज २० गते २७औं वार्षिक साधारण सभा गर्ने निर्णय गरेको हो ।  

सभा नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठान, जावलाखेल, ललितपुरमा विहान ११ बजे सुरु हुनेछ । सभाले गत वर्षको मुनाफाबाट हाल कायम चुक्तापूँजीको आधारमा ५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव २६ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव पारित गर्नेछ । हाल कम्पनीको चुक्तापूँजी १ अर्ब १२ करोड ८० लाख ९० हजार रुपैयाँ रहेको छ । सोही पूँजीको आधारमा कम्पनीले लाभांश वितरण गर्न लागेको हो । 

गत वर्ष पनि कम्पनीले ५ दशमलव २६ प्रतिशत लाभांश वितरण गरेको थियो । गत वर्ष भने कम्पनीले कर समेत नगद लाभांश वितरण गरेको हो । यस वर्ष भने कम्पनीले बोनस शेयरमा जोड दिएको छ । यी प्रस्तावहरूसँगै गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरू पारित गर्नुका साथै चालू आर्थिक वर्षको लागि लेखापरिक्षक नियुक्ती र निजको पारिश्रमिक निर्धारणको विषय टुङ्ग्याउनेछ ।

प्रबन्धपत्र र नियमावली संशोधन गर्ने प्रस्ताव पनि सभाका लागि तय भएको छ । साधारण सभा प्रयोजनका लागि कम्पनीले असोज ७ गतेदेखि २० गतेसम्म बुक क्लोज गर्न लागेको छ । बुक क्लोजको आधारमा असोज ६ गतेसम्म कायम शेयरधनीहरूले मात्र सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् ।