शीर्षकहरू

तीन कम्पनीको ३० लाखभन्दा बढी संस्थापक शेयर बिक्रीमा

तीन कम्पनीको ३० लाखभन्दा बढी संस्थापक शेयर बिक्रीमा

काठमाडौं । तीन कम्पनीको संस्थापक शेयर बिक्रीमा आएको छ । सूर्यज्योति लाइफ इन्स्योरेन्सको ८ लाख १ हजार ४७६ कित्ता, प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको २१ लाख ९६ हजार कित्ता र मल्टीपर्पस फाइनान्सको १८ हजार कित्ता शेयर भदौ २८ गतेदेखि बिक्रीमा आएको हो ।

तीनवटै कम्पनीको संस्थापक शेयर विद्यमान संस्थापक शेयरधनीहरूले मात्र खरीद गर्न पाउनेछन् । इच्छुक खरीदकर्ताहरूले आगामी ३५ दिनभित्र सम्बन्धित कम्पनीको केन्द्रिय कार्यालयमा आवेदन दिनुपर्नेछ ।

सूर्यज्योति लाइफको शेयर खरीदका लागि कम्पनीको शेयर रजिष्ट्रार एनआईसी एशिया क्यापिटल लिमिटेडको केन्द्रिय कार्यालय थापाथली, काठमाडौंमा, मल्टिपर्पस फाइनान्सको शेयर खरिदका लागि कम्पनीको केन्द्रिय कार्यालय जनकपुराधाममा र प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको शेयर खरिदका लागि कम्पनीको केन्द्रिय कार्यालय कमलादी, काठमाडौंमा आवेदन पेश गर्नुपर्नेछ । 

प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सले प्रतिकित्ता २०३ रूपैयाँको दरले र एनआईसी एशिया बैंकले प्रतिकित्ता २०८ रुपैयाँका दरले यी शेयर विक्रीमा ल्याएको हो । मल्टिपर्पस फाइनान्सले भने शेयरको मूल्य तोकेको छैन् । 

प्रभु महालक्ष्मी लाइफको यी शेयर बाँडफाँटमा प्राप्त गर्ने लगानीकर्ताहरूले कम्पनीले यस वर्षको लागि प्रस्ताव गरेको १० प्रतिशत बोनस शेयर समेत प्राप्त गर्ने जानकारी कम्पनीले दिएको छ । कम्पनीले कर प्रयोजनका लागि शून्य दशमलव ५२६ प्रतिशत नगद लाभांश समेत वितरण गर्ने प्रस्ताव गरेको छ । प्रभु महालक्ष्मी लाइफको शेयर खरीदका लागि आवेदन पेश गर्दा न्यूनतम २ लाख कित्ता र अधिकतम सम्पूर्ण कित्ता माग गर्नुपर्नेछ । 

यी तीन कम्पनीले विद्यमान संस्थापक शेयरधनीहरूमा तोकिएको अवधिभित्र यी शेयर विक्री नभएमा अन्य व्यक्ति तथा संस्थामा विक्री प्रक्रिया अघि बढाउने जानकारी दिएका छन् ।