शीर्षकहरू

कृषि कर्मबाट मासिक डेढ लाख आम्दानी गर्दै रेसबहादुर

कृषि कर्मबाट मासिक डेढ लाख आम्दानी गर्दै रेसबहादुर

स्याङ्जा । हरिनास गाउँपालिका–५ समन्तेका ३८ वर्षीय रेसबहादुर क्षेत्रीले गाउँमा बाख्रापालक किसानको परिचय स्थापित गरेका छन् । विसं २०७४ मा वडासदस्य भएर जनताको सेवा गरेका क्षेत्रीले त्यसको तीन वर्ष पहिले विके पशुपक्षी तथा कृषि फार्म दर्ता गरेर बाख्रापालन सुरु गरेका हुन् । 

परम्परागत रूपमा बाबुबाजेले गरेको बाख्रापालनलाई विस्थापित गरेर आधुनिक बाख्रापालन गर्ने सोचसहित क्षेत्रीले बाख्रा र खोरमा रु ८५ हजार लगानी गरेर व्यवसाय सुरु गरेको बताए । “घरमा भएका खरी जातका आठवटा पाठापाठी र खरिद गरेर ल्याएका बोयर जातका एक–एकवटा माउ र बाख्राबाट व्यवसाय सुरु गरेको थिएँ”, उनले भने, “अहिले फार्ममा ७३ वटा बाख्रा छन् ।”

किसान क्षेत्रीले बाख्रापालन व्यवसायबाट वार्षिक रूपमा रु तीन लाख ५० हजार आम्दानी गर्दै आएको बताए । उनले १६ रोपनी जग्गामा केराखेती पनि गरेका छन् । “केराखेतीबाट वार्षिक रु एक लाख ५० हजारसम्म आम्दानी गर्दै आएको छु । यो वर्ष दुई सय ९२ केराका बोट हावाले ढाल्यो”, उनले भने । 

अरूलाई यो गर्नुपर्छ भन्नुभन्दा आफैँले गरेर देखाउनुपर्छ भन्ने सोचसहित बाख्रा पालेको उनले बताए । उनको फार्ममा खोर निर्माण, घाँस रोपण, चरन क्षेत्र व्यवस्थापनलगायत संरचनामा अहिलेसम्म रु १५ लाख लगानी भएको छ । उहाँको फार्ममा ८५ प्रतिशतका बोयर बाख्रा छन् । 

“अहिले व्यवसाय राम्रो हुँदै गएको छ । उत्पादन गर्न सके बजारको समस्या छैन ।  खसीबोका पोखरा पठाउँछु”, किसान क्षेत्रीले भने । चरन क्षेत्रको समस्या छैन । ” यहाँका प्रत्येक घरमा १० देखि २५ वटासम्म बाख्रा छन् । एक घरको गोठालो जान नपाउँदा अर्को घरकाले सहयोग गर्ने चलन छ ।

“व्यवसायबाट सन्तुष्ट छु । बाख्रापालन र केराखेतीबाट मासिक रु एक लाख ५० हजार सम्म आम्दानी हुने गरेको छ  ”, उनले भने, “मालिक बन्छु भन्ने सोच राखियो भने प्रगति हुँदैन । आफू सक्रिय भएर व्यवसाय थाल्ने हो भने सफल बन्न सकिन्छ, विदेश जानुपर्दैन ।” सरकारबाट अनुदान  नलिएको उनले बताए । नगद नभई दानापानीमा अनुदान दिनुपर्नेमा उहाँको जोड छ ।

क्षेत्रीले बाख्रा र केरा बेचर बुटवल, सुनवल, चितवन, मिर्दी भिमाद सडकमा घडेरी किनेको बताए । उनले गाउँमा गाह्रोसाह्रो पर्नेलाई दिएको रु ७५ लाखसम्म पुगेको बताए । 

गाउँपालिकाका कृषि अधिकृत हरिप्रसाद गैह्रेले पालिकाले किसानलाई निःशुल्क उपचार तथा औषधि वितरण, परामर्श, घाँसका बीउ वितरणलगायत सहयोग गर्दै आएको बताए । उनले भने, ‘गत वर्ष दुईवटा बाख्रा पकेट क्षेत्र कार्यक्रम सञ्चालन थिए । त्यतिबेला २८ वटा शुद्ध बोयर बीउ बोका वितरण गरियो । तीन सयभन्दा धेरै कुखुराका चल्ला पनि वितरण गरियो । यो वर्ष पनि किसानका मागका आधारमा काम गर्छौँ ।’