शीर्षकहरू

पूर्वाधार विकासको हिसाबले हामी कमजोर अवस्थामा छौं : अर्थमन्त्री

पूर्वाधार विकासको हिसाबले हामी कमजोर अवस्थामा छौं : अर्थमन्त्री

काठमाडौं । उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले पूर्वाधार विकासको हिसाबले नेपाल कमजोर अवस्थामा रहेको बताएका छन् । सीएनआईले आयोजना गरेको नेपाल पूर्वाधार सम्मेलन २०२४ मा मन्त्री पौडेलले 'समृद्ध नेपाल र सुखी नेपाली'को मूल आधार र्याप्त, गुणस्तरीय, दिगो र उत्थानशील भौतिक पूर्वाधार विकास भएको र पूर्वाधार विकासमा मुलुक कमजोर रहेको बताए ।

'निश्चय नै हामी पूर्वाधार विकासको हिसाबले कमजोर अवस्थामा छौँ । भूपरिवेष्ठित अवस्थिति र  जटिल भू–बनौटलाई हाम्रो पूर्वाधार विकासको मुख्य चुनौतीको रुपमा लिने गरिएको छ । पूर्वाधार विकासमा पर्याप्त लगानी जुटाउन तथा निजी क्षेत्रलाई आकर्षित गरी पुँजी परिचालन गर्न हामीले नीतिगत तथा प्रकृयागत सुधार गर्नु आवश्यक छ,' उनले भने ।

सरकारी क्षेत्रको साथसाथै नवीन उपकरणकरुको उपयोग गर्दै आवश्यक लगानी जुटाउन सरकार सबै प्रकारको सहजीकरण गर्न तत्पर रहेको उनले बताए । वर्तमानका चुनौतीहरुको सामना गर्दै भावी सम्भावनाहरुलाई उजागर गर्न आफ्ना नीति, योजना एवम् कार्यक्रमहरु तय गर्दै पूर्वाधार विकासको अभियानमा समाहित हुन सरकार तयार रहेको उनको भनाइ थियो ।

उनले यो सम्मेलनले  एक्काईसौं शताब्दीको आवश्यकता अनुरुपको आधुनिक, सुरक्षित र हरित पूर्वाधार विकासको मार्ग चित्र कोर्न ठोस योगदान गर्ने विश्वास लिएको बताए ।