काठमाडौं । नेपाल चेम्बर अफ कमर्सले स्टार्टअप उधमशिलता कार्यका लागि सहयोग गर्ने भएको छ । चेम्बर अफ कमर्सको स्टार्टअफ एण्ड इन्नोभेशन समिति र अन्नपुर्ण मिडिया नेटवर्कबीच काठमाडौंको जमलस्थित चेम्बर भवनमा आज आयोजित कार्यक्रममा स्टार्टअप उद्यमशीलता विकास गर्ने सम्वन्धमा सहकार्यको सम्झौता भएको हो ।
सम्झौतापत्रमा चेम्बर इन्नेभेशन समितिका सभापति पंकज जालान र अन्नपुर्ण मिडिया नेटवर्कका महाप्रवन्धक मनोज बस्नेतले हस्ताक्षर गरे । चेम्बरले युवा उद्यमशिलता सम्वन्धी संजाल विस्तार गर्ने, कानूनी सहायता र लगानीका लागि सहजीकरण गर्ने र यसका लागि अन्नपुर्ण मिडिया नेटवर्कका विभिन्न सञ्जालमा प्रचार प्रसार गर्ने सम्वन्धमा सहमति भएको छ ।
सम्झौता हस्ताक्षर कार्यक्रममा बोल्दै चेम्बरका अध्यक्ष कमलेश कुमार अग्रवालले स्टार्टअप उद्यमशिलता विकास कार्यक्रम परिणाममुखी हुनुपर्नेमा जोड दिए । युवाहरुलाई स्वदेशमै उद्यमी बनाउन एवं रोजागरी सिर्जना गर्न चेम्बरले स्टार्टअफ एण्ड इन्नोभेशन समिति मार्फत काम गरिरहेको अग्रवालले बताए ।