शीर्षकहरू

नेप्से ३० इन्डेक्स तत्काल सञ्चालन गर्ने मनस्थितिमा छैन नेप्से

नेप्से ३० इन्डेक्स तत्काल सञ्चालन गर्ने मनस्थितिमा छैन नेप्से

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज तत्काल नेप्से ३० इन्डेक्स सञ्चालन गर्ने मनस्थितिमा देखिएको छैन । नेप्से ३० को विषयमा नेप्सेको नेतृत्व नै स्पष्ट नभएपछि सञ्चालनको प्रक्रिया अलमलमा परेको हो ।

नेप्सेले आर्थिक वर्ष २०८०÷८१ भित्र नेप्से ३० सञ्चालनमा ल्याई सक्ने गरी कार्ययोजना बनाएको थियो । सोही बमोजिम नेप्सेले २०८० को भदौमा नेप्से इन्डेक्स सञ्चालन तथा व्यवस्थापन सम्बन्धी आन्तरिक कार्यविधि निर्माण गरि सकेको छ ।

कार्यविधिका आधारमा नेप्सेले इन्डेक्स व्यवस्थापन समिति पनि गठन गरेको छ । समितिले नेप्से ३० सञ्चालनका सबै तयारी गरी नेप्सेको बोर्डमा समेत प्रस्ताव गरिसकेको छ । तर, सञ्चालक समितिको बैठकले यो विषयलाई प्राथमिकतामा नै नराखेको नेप्सेका एक कर्मचारीले बताए । ‘व्यवस्थापनले सञ्चालक समितिलाई सबै तयारी गरी प्रस्ताव पठाई सकेको छ । तर, सञ्चालक समितिले यो विषयमा प्रवेश नै गरेको छैन,’ उनले भने ।

नेप्से ३० फरक खालको इन्डेक्स हो । यसको गणना विधिले बजारको वास्तविक अवस्थाको देखाउँछ । तर, नेप्से ३० को विषयमा सञ्चालक समिति नै स्पष्ट हुन नसकेको देखिने उनले बताए । ‘नेप्सेको ३० विषयमा सञ्चालक समितिका सदस्य नै स्पष्ट हुनुहुन्न । त्यसैले सञ्चालन लागि उहाँहरू अलि अलमलमा परेको हो कि ?,’उनले भने । 

कार्यविधि अनुसार नेप्सेको सञ्चालक समितिको बैठकको निर्णयअनुसार नयाँ इण्डेक्स सञ्चालन गर्न सकिनेछ । 

के हो नेप्से ३० ?

नेप्से ३० एउटा इन्डेक्स हो । जसरी अहिले नेप्सेमा विभिन्न इन्डेक्सहरु छन्, त्यही मध्ये कै नेप्से ३० पनि एक हुनेछ । अहिले नेप्से इन्डेक्स, सेन्सेटिभ इन्डेक्स, फ्लोट इन्डेक्स, फ्लोट सेन्सेटिभ इन्डेक्स र अन्य १३ वटा समूह गत इन्डेक्सहरु छन् । 

नेप्से इन्डेक्सलाई अल ईक्यूटी इन्डेक्स पनि भनिन्छ । यस इन्डेक्समा नेप्सेमा सूचीकृत सबै कम्पनीका सबै  खालका संस्थापक तथा सर्वसाधारण सेयरहरु संलग्न गरिएको हुन्छ ।  यो इन्डेक्स १९९४ जनवरी १३ देखि शुरु भएको हो । 

त्यस्तै, सेन्सेटिभ इन्डेक्स भनेको निश्चित मापदण्डका आधारमा छनौट गरिएका कम्पनीहरूलाई समावेश गरी सन् 1994 जनवरी १ लाई आधार बनाई बनाइएको इन्डेक्स हो  । तत्कालीन सूचीकरण विनियमावलीमा रहेको समूह क मा पर्नका लागि तय गरिएका मापदण्ड अनुसार छनौट भएका कम्पनीहरूको सबै सेयरहरु    (सर्वसाधारणलाई जारी गरिएको तथा संस्थापक सेयरधनीसँग रहेको) संलग्न गरी यो इन्डेक्स गणना गर्न सुरु गरिएको थियो । 

फ्लोट सेन्सेटिभ र फ्लोट सर्वसाधारण सेयरका रुपमा बजारमा सूचीकृत सेयरलाई मात्र बनाइएको इन्डेक्स हो । यसको आधार मिति 2008 अगष्ट २५  हो । यस इन्डेक्स बास्केटमा नेप्सेमा सूचीकृत सबै कम्पनीहरूको सर्वसाधारण सेयरका रुपमा बजारमा सूचीकृत सेयरलाई संलग्न गरिएको छ । 

तर, नेप्से ३० भनेको फरक खालको इन्डेक्स हुने नेप्सेका प्रवक्ता मुराहरी पराजुलीले बताए । यो इन्डेक्स फ्रि फ्लोट विधिबाट गणना गरिनेछ । यो इन्डेक्स बजारमा उपलब्ध तत्काल कारोबार योग्य सेयरहरुको बास्केट भनेर बुझिन्छ । सूचीकृत सम्पूर्ण सेयरमध्ये संस्थापक सेयरहरु, धितोमा रहेका सेयरहरु आदि कारोबार योग्य हुँदैनन् । तत्काल कारोबार हुन नसक्ने सेयरलाई समेत समावेश गरी इन्डेक्स गणना गर्दा त्यसले वास्तविक बजारको प्रतिनिधित्व नगर्न सक्छ । त्यसैले नेप्से ३० मा त्यस्ता सेयरहरुलाई हटाई कारोबार योग्य सेयर मात्र राखेर इन्डेक्स गणना गरिन्छ । 

नेप्से ३० इन्डेक्समा सूचीकृत संगठित संस्था छनौटका आधार

  • विगत ५ वर्षमध्ये कम्तीमा ३ वर्ष नाफामा गएको हुनुपर्ने
  • प्रतिसेयर आम्दानी चुक्ता मूल्यको न्यूनतम् १० प्रतिशत भएको हुनुपर्ने
  • कम्तीमा २५ प्रतिशत सेयर सर्वसाधारणमा जारी भएको हुनुपर्ने 
  • प्रतिसेयर चुक्ता मूल्यभन्दा प्रति सेयर किताबी मूल्य बढी भएको  
  • पछिल्लो ६ महिनामा कारोबार दिनमध्ये न्यूनतम् ७५ प्रतिशत दिनमा कारोबार भएको 
  • पछिल्लो ६ महिनाको अवधिमा कारोबार भएको सेयर संख्या इन्डेक्स गणना वा रिब्यालेन्सिगका लागि तोकिएको मितिमा कायम रहेको सम्बन्धित कम्पनीको कुल फ्रि फ्लोट सेयर संख्याको कम्तीमा ३ प्रतिशत रहेको । 

 

गणना विधि 

छनौट भएर आएका कम्पनीहरूको प्रारम्भिक सूची तयार गरिनेछ । प्रारम्भिक सूचीमा समावेश भएका सबै सूचीकृत संगठित संस्थाहरूको फ्रि–प्mलोट बजार पुँजीकरणका आधारमा क्रमबद्ध गरी पहिलो ३० वटा कम्पनीहरू छनौट गर्ने गरिनेछ । यसरी छनौट हुने कम्पनीहरूलाई ७ वटा समूहमा वर्गीकरण गर्दा कम्तीमा एक समूहबाट एक कम्पनी परेमा त्यसैलाई अन्तिम सूची बनाइनेछ । पहिलो ३० को सूचीमा कुनै समूहबाट एउटा पनि कम्पनी नपरेमा त्यस्तो सूचीमा कम्तीमा एउटा समूहबाट एउटा कम्पनी पर्ने सुनिश्चित गर्दै सबैभन्दा कम बजार पुँजीकरण भएको कम्पनी हटाई सो स्थानमा समूहमा नपरेको कम्पनीहरूमध्ये प्रारम्भिक सूचीमा रहेको सो समूहको सबैभन्दा बढी पुँजीकरण भएको कम्पनी राखी अन्तिम सूची तयार गरिनेछ तर प्रारम्भिक सूचीमा त्यस्तो कुनै कम्पनी परेको नभएमा त्यस्तो कम्पनी छनौट गर्न अनिवार्य हुने छैन ।

कथमकदाचित प्रारम्भिक सूचीमा ३० वटा कम्पनीहरू नै नरहेको अवस्था परेमा प्रतिसेयर आम्दानीको मापदण्ड पूरा गर्ने प्रारम्भिक सूचीमा नपरेका उनीहरुमध्येबाटै बढी पुँजीकरण भएको कम्पनी क्रमशः समावेश गरी अन्तिम ३० को सूची तयार गरिनेछ । यसरी समावेश गर्दा अन्तिम ३० को सूचीमा एउटा समूहबाट कम्तीमा एउटा कम्पनी पर्ने सुनिश्चित गर्ने । 

अन्तिम ३० को सूची भित्र परेका कम्पनीहरूको आधारमा नेप्से ३० इन्डेक्स बास्केटका कम्पनीहरुको फ्रि फ्लोट सेयरको हालको बजार पुँजीकरणलाई सेयरको आधारमा बजार पुँजीकरणले भाग गरी आएको योगफललाई एक हजारले गुणा गरिनेछ । 

यस इन्डेक्सलाई प्रत्येक वर्ष आषाढ मसान्तको तथ्यांकको आधारमा भाद्र महिनाको अन्तिम शुक्रबार र पुष मसान्तको तथ्यांकको आधारमा फागुन महिनाको अन्तिम शुक्रबार रिब्यालेन्सिग गरी कम्पनी थपघट गरिनेछ । तर पहिलो पटक नेप्सेले कुनै पनि महिना र दिनबाट यो इन्डेक्स प्रारम्भ गर्न सक्नेछ ।