शीर्षकहरू

नागरिकमैत्री सेवा प्रवाह वर्तमान सरकारको पहिलो प्रथमिकताः मन्त्री खड्का

नागरिकमैत्री सेवा प्रवाह वर्तमान सरकारको पहिलो प्रथमिकताः मन्त्री खड्का

धरान । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले नागरिकमैत्री सेवा प्रवाह वर्तमान सरकारको पहिलो प्रथमिकतामा रहेको बताएका छन् । नेपाली कांग्रेस सुनसरी क्षेत्र नं १ ले बुधबार धरानमा आयोजना गरेको ‘भेटघाट तथा अन्तक्र्रिया’ कार्यक्रममा उनले दुई ठूला राजनीतिक दल मिलेर बनेको वर्तमान सरकारले मुलुकमा विद्यमान समस्या समाधान गरी नागरिकमैत्री सेवा प्रवाहमा जोड दिएको बताएका हुन् ।  

मन्त्री खड्काले संसद्का दुई ठूला दल मिलेर बनेको वर्तमान गठबन्धनले जनतामा आशा जगाउने काम गरेको भन्दै स्थिर सरकारका माध्यमबाट विकास, निर्माणमा उल्लेख्य उपलब्धि हासिल गर्न सकिने धारणा राखे । “विगतमा छिटोछिटो सरकार परिवर्तन हुँदा विकास निर्माणले गति लिन सकेको थिएन, अहिलेको गठबन्धन आगामी निर्वाचनसम्म जान्छ, हरेक व्यक्तिले आफ्नो दायित्व निर्वाह गररे देश विकासमा सहयोग पुर्याउनु आवश्यक छ”, उनले भने । 

मन्त्री खड्काले संविधानलाई समयसापेक्ष परिवर्तन गर्दै लैजान सकिने बताए । “देश विकास, स्वदेशमा रोजगारी सिर्जना, स्वास्थ्य सेवालगायत जनतालाई कसरी सहज सेवा प्रवाह गर्न सकिन्छ त्यसतर्फ सरकार लागिरहेको छ”, उनले भने । सीमित स्रोतसाधनका बीच सरकारले विकास निर्माणलाई अगाडि बढाएको उनको भनाइ छ ।

ऊर्जामन्त्री खड्काले पूरा हुन नसकेका जलविद्युत् आयोजनालाई अगाडि बढाउन सरकारले योजनाबद्ध रुपमा काम गरिरहेको बताए । “कर्णाली चिसापानी, अपर अरुण, पञ्चेश्वर, बुढीगण्डकी, तमोरजस्ता आयोजनालाई अगाडि बढाउन सकिए ऊर्जा र सिँचाइमार्फत देश समृद्ध बनाउन सकिन्छ, त्यसमा सरकारले योजनाबद्ध काम गरिरहेको”, उनले भने । 

उनले देशमा भएका स्रोतसाधनको अधिकतम प्रयोग गर्दै समृद्ध मुलुक निर्माणमा सरकार अगाडि बढेको उल्लेख गरे । आगामी एक वर्षभित्र देशैभरी विद्युतीकरण भइसक्ने उनको भनाइ छ ।