शीर्षकहरू

नेपाल ल्यूव आयलको २५ प्रतिशत लाभांश प्रस्ताव

नेपाल ल्यूव आयलको २५ प्रतिशत लाभांश प्रस्ताव

काठमाडौं । नेपाल ल्यूव आयल लिमिटेडले गत आर्थिक वर्ष ०८०/८१ को मुनाफाबाट कुल २५ प्रतिशत लाभांश वितरणको प्रस्ताव गरेको छ । भदौ २६ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले लाभांश वितरणको प्रस्ताव गर्दै प्रस्तावित लाभांश सहित अन्य विविध प्रस्ताव पारितका लागि ३३औं वार्षिक साधारण सभा बोलाएको छ । 

सभा याक प्यालेस, पुल्चोक, ललितपुरमा विहान ११ः३० बजे सभा गर्ने निर्णय गरेको हो । कम्पनीले यस वर्ष २० प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ५ प्रतिशत नगद लाभांश वितरण गर्न लागेको हो । हाल कम्पनीको चुक्तापूँजी ६ करोड ७ लाख १८ हजार ९०० रुपैयाँ छ । 

कम्पनीले प्रिमियम मूल्यमा थप सार्वजनिक निष्कासन (एफपीओ) गर्ने प्रस्ताव पनि सभाका लागि तय भएको छ । एफपीओपछि कायम पूँजीको उपयोगसँगै अधिकृत, जारी तथा चुक्तापूँजी बृद्धि गर्न प्रबन्धपत्र संशोधन गर्ने प्रस्ताव पनि सभाका लागि तय भएको छ । 

यी प्रस्तावहरूसँगै गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरू पारित गर्नुका साथै चालू आर्थिक वर्षको लागि लेखापरिक्षक नियुक्ति र निजको पारिश्रमिक निर्धारणको विषय टुङग्याउनेछ ।

साधारण सभा प्रयोजनका लागि कम्पनीले असोज ४ गतेदेखि १८ गतेसम्म बुक क्लोज गर्न लागेको छ । बुक क्लोजको आधारमा असोज ३ गते सार्वजनिक विदा परेकाले असोज २ गतेसम्म कायम शेयरधनीहरूले मात्र सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् ।