शीर्षकहरू

बाल सुधार गृहका बालबालिकालाई पनि स्वास्थ्य बीमामा समेटिने

बाल सुधार गृहका बालबालिकालाई पनि स्वास्थ्य बीमामा समेटिने

काठमाडौं । नेपाल स्वास्थ्य बीमा बोर्डले बाल सुधार गृहमा रहेका बालबालिकालाई पनि स्वास्थ्य बीमा समेट्ने भएको छ । बोर्डले बाल सुधार गृहमा रहेका बालबालिकालाई स्वास्थ्य बीमा कार्यक्रममा आबद्ध गर्ने सम्बन्धित कार्यविधि जारी गर्दै यस्तो व्यवस्था गरेको हो । 

कार्यविधि अनुसार बाल सुधार गृहमा रहेका बालबालिका भन्नाले कानुनको विवादमा परेका बालबालिका (कसूरजन्य कार्यको आरोप लागेका) र बाल अदालतबाट कसूरजन्य कार्यमा दोषी ठहर भएका बालबालिका सम्झनु पर्नेछ । सुधार गृहले यस्ता बालबालिकालाई बीमामा आवद्द गराउन चाहेमा बालबालिकाहरूको परिवार संख्या तोकी स्वास्थ्य बीमा कार्यक्रममा आबद्धता हुने निर्णयको जानकारी बोर्डलाई दिनुपर्नेछ । 

सुधार गृहले बीमित हुन चाहने परिवार बराबरको योगदान रकम बोर्डमा जम्मा गर्नुपर्नेछ । परिवार भन्नाले सुधार गृहमा रहेका वा मुद्दा पुर्पक्षको लागि बाल सुधार गृहमा रहेका पाँच जना सदस्यलाई सम्झनु पर्नेछ । बीमा लेख जारी हुने बालबालिकाहरूको बीमा योगदान रकम प्रति परिवार तीन हजार ५०० तोकिएको छ । 

स्वास्थ्य बीमा कार्यक्रममा आबद्ध गराउन सम्बन्धित बाल सुधार गृहले नजिकको दर्ता सहयोगी वा बाल सुधार गृहबाट तोकिएको दर्ता सहयोगी वा अनलाइन माध्यमबाट दर्ता गर्न सक्नेछन् । बाल सुधार गृहका बालबालिकाको विवरण स्वास्थ्य बीमा बोर्डले बीमा प्रयोजनमा बाहेक सूचना गोप्य राख्नुपर्नेछ ।

बाल सुधार गृहमा भएका बालबालिकाहरूको आवश्यक प्रक्रिया र विवरणको आधारमा परिचयपत्र स्वास्थ्य बीमा बोर्डले उपलब्ध गराउनेछ । बीमा लेखेका अवधि एक वर्षको हुनेछ  । एक वर्षमा नवीकरण नगरेमा स्वत खारेज हुनेछ । 

बाल सुधार गृहमा रहेका बीमितको मृत्यु भएमा वा बाल सुधार गृहमा नरहेमा स्वास्थ्य बीमा समाप्त भएको मानिनेछ  । 

बाल सुधार गृह नजिक रहेको स्वास्थ्य बीमामा सूचीकृत प्राथमिक स्वास्थ्य केन्द्र, आधारभूत वा नगर अस्पताल, जिल्ला अस्पताल वा अन्य सरकारी अस्पताललाई प्रथम सेवा विन्दु तोकिनेछ । 

बीमा कार्यक्रममा आबद्ध भएका बालबालिका एक स्थानबाट अर्को स्थानमा स्थानान्तरण भएमा निजले बीमाको म्याद भएको अवधिसम्म बोर्डबाट तोकिएका स्वास्थ्य संस्थाहरूबाट उपचार सुविधा प्रयोग गर्न पाउनेछ ।