शीर्षकहरू

खाद्य कम्पनीले दशैँमा काठमाडौं उपत्यकाका लागि १८ सय खसीबोका र च्याङ्ग्रा ल्याउने

खाद्य कम्पनीले दशैँमा काठमाडौं उपत्यकाका लागि १८ सय खसीबोका र च्याङ्ग्रा ल्याउने

काठमाडौं । यस वर्षको दशैँका लागि खाद्य व्यवस्था तथा व्यापार कम्पनीले १८ सय खसीबोका र च्याङ्ग्रा ल्याउने भएको छ । कम्पनीले काठमाडौं उपत्यकाको मागलाई सम्बोधन गर्न १ हजार ५०० खसीबोका र ३०० वटा च्याङ्ग्रा ल्याउने भएको हो । 

यस वर्ष असोज १७ गते घटस्थपना, २४ गते फुलपाती, २५ गते महाअष्टमी/महानवमी/कालरात्रि र २६ गते विजया दशमी टीका रहेको छ । दशैँमा काठमाडौं उपत्यकामा मात्रै ७० हजारभन्दा बढी खसीबोकाको माग हुने गरेको छ । 

खाद्य कम्पनीकी सूचना अधिकारी सर्मिला न्यौपाने सुवेदीका अनुसार कम्पनीले ल्याउने खसीबोका र च्याङ्गा घटस्थापनाको अघिल्लो दिन ल्याइनेछ । ती खसीबोका र च्याङ्ग्रा सहुलियत मूल्यमा बिक्री गरिने जानकारी उनले दिइन् ।

कम्पनीले यस वर्षको दशैँमा खसीबोका र च्याङ्ग्रा खरिदका लागि ४ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । अघिल्लो वर्ष कम्पनीले ८ करोड रुपैयाँ बराबरका २५ सय ४२ वटा खसीबोका ल्याएकोमा सबै बिक्री नभएपछि घाटा बेहोर्नुपरेको थियो । सोहीकारण यस वर्ष बजेट घटाइएको सूचना अधिकारी सुवेदीले बताइन् ।

दशैँमा खसीबोका हेटौँडा र दाङलगायतका जिल्लाबाट र च्याङ्ग्रा मुस्ताङबाट ल्याउने तयारी कम्पनीको छ ।