शीर्षकहरू

ताप्लेजुङ गोल्ड कपबाट ५५ लाख आम्दानी

ताप्लेजुङ गोल्ड कपबाट ५५ लाख आम्दानी

ताप्लेजुङ । ताप्लेजुङ गोल्ड कप २०८१ को आज पत्रकार सम्मेलनमार्फत आयव्यय विवरण सार्वजनिक गरिएको छ । सहयोग तथा टिकट बिक्रीबाट रु ५५ लाख ६४ हजार एक सय २९ आम्दानी भएको हो । 

कोषाध्यक्ष निरोज श्रेष्ठका अनुसार कार्यक्रम सम्पन्न गर्न रु ७३ लाख २० हजार सात सय ४८ खर्च भएको छ । हाल समितिले रु १७ लाख ५६ हजार छ सय १९ तिर्न बाँकी रहेको छ । त्यो रकम स्थानीय तह, हाइड्रोपावर कम्पनी, सङ्घसंस्था तथा बास बिक्रीमार्फत सङ्कलित आम्दानीबाट तिर्ने योजना रहेको आयोजकले जनाएको छ ।

फुङलिङ नगरपालिकाले रु पाँच लाख सहयोग गरेको छभने मेरिङदेन र मैवाखोला गाउँपालिकाले रु एक–एक लाखका दरले सहयोग गर्ने निर्णय गरेका छन् । अन्य पालिकाहरूले पनि सहयोगको प्रतिबद्धता जनाएका छन् । जिल्ला समन्वय समितिले रु ५० हजार सहयोग गर्ने निर्णय गरेको छभने स्पार्क हाइड्रोपावर, पाथीभरा केबलकार र सानिमा मध्यतमोर हाइड्रोपावर लगायतका संस्थाबाट रकम उठ्न बाँकी रहेको आयोजकले जनाएको छ ।

खेल अवधिभर टिकट बिक्रीबाट रु २३ लाख ७६ हजार छ सय र विभिन्न सङ्घसंस्था तथा व्यक्तिबाट रु ३१ लाख ८७ हजार पाँच सय २९ सङ्कलन गरिएको छ । यस रकमले प्रतियोगिताको पुरस्कार वितरण, खेलमैदान तयारी, स्टेज व्यवस्थापन, ट्रफी, मेडल, टिम व्यवस्थापनलगायत विभिन्न खर्च धानिएको छ ।

पूर्वखेलाडीहरूको सम्मान, रेफ्री र अफिसियल व्यवस्थापन, यातायात, मिडिया, मेडिकल, तथा खाजा खर्च लगायतका विभिन्न शीर्षकमा पनि उल्लेखनीय खर्च भएको छ । साथै लाखेजात्रा सञ्चालन समितिले रु पाँच लाख ८८ हजार आठ सय १० को अचल सम्पत्ति जोडेको छ र रु १८ लाख ५० हजार बैङ्क खातामा राखेको छ । त्यसलाई आगामी योजनाका लागि सुरक्षित गरिएको कोषाध्यक्ष श्रेष्ठले बताए ।