शीर्षकहरू

सहकारी ठगीमा ‘हाई प्रोफाइल’ आरोपीः पर्दैनन् पक्राउ, हुँदैन अनुसन्धान

सहकारी ठगीमा ‘हाई प्रोफाइल’ आरोपीः पर्दैनन् पक्राउ, हुँदैन अनुसन्धान

केही महिना अगाडी नेपाली कांग्रेसले ‘सहकारी ठगीमा छानविन हुनुपर्ने’ माग राख्दै प्रतिनिधि सभाको बैठक अवरुद्ध गर्‍यो । त्यतिबेला सहकारी ठगीकाे आरोप लागेका पूर्व गृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने उनीहरूको निशानामा थिए । 

लामिछाने सहकारी ठगी काण्डमा मुछिएको भन्दै लामो समयसम्म नेपाली कांग्रेसले संसद् अवरुद्धसहित हुर्मत लियो । भलै संसदीय छानबिन समिति गठनपछि कांग्रेस सेलायो ।       

अहिले कांग्रेसकै उपसभापति एवम् पूर्व कानुनमन्त्री धनराज गुरुङ सहकारी ठगीमा मुछिएका छन् । स्याङ्जाबाट निर्वाचित सांसद गुरुङमाथि ललितपुर महानगरपालिकामा रहेको मितेरी बचत तथा ऋण सहकारी संस्थामार्फत ठगी गरेको आरोप छ । 

गुरुङले सहकारीको प्रबन्धक समेत रहेकी उनकी श्रीमती ज्योती गुरुङसँग मिलेर १४ करोड ८१ लाख रुपैयाँ बचत हिनामिना गरेको आरोप छ । अहिले उनी विरुद्ध प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआईबी) मा जाहेरी दर्ता भएको विषय बाहिरिएको छ । यसबारे सहकारीका अध्यक्ष कुम्भराज गुरुङले संसदीय छानविन समितिमा बयान समेत दिएका छन् । 

२०४६ सालदेखि राजनीतिमा सक्रिय गुरुङ वडाध्यक्ष हुँदै कानुनमन्त्री बनेका व्यक्ति हुन् । सहकारी ठगीको आरोप लागेकी उनकी श्रीमती ज्योती चार वर्षदेखि फरार छिन् । ज्योती र धनराजबीच २०७६ सालमै सम्बन्ध विच्छेद भएको थियो । धनराजले ज्योतीसंग सम्बन्ध बिच्छेद भइसकेकाले आफू ठगीमा संलग्न नरहेको दाबी गरेका छन् ।

तर, अपचलनको समयमा उनीहरूसँगै रहेको पाइएको छ । उनीहरूले गरेको सम्बन्ध विच्छेद पनि नक्कली रहेको आरोप लागेको छ । यसबारे मंगलबार प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद गुरुङले सम्बन्ध बिच्छेद नक्कली भए प्रमाणित गर्न चुनौती दिए । सम्बन्ध बिच्छेदपछि उनले पूर्व श्रीमतीसँग सम्पर्कमा नरहेको दाबी गरेका छन् । 

रास्वपाका चार नेता सहकारी ठगीमा मुछिए

सहकारी ठगीको आरोप लागेका अर्का ठूला नेता हुन्, रवि लामिछाने । पूर्व गृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति लामिछाने सुप्रिम बचत तथा ऋण सहकारी ठगी प्रकरणमा मुछिएका छन् । उनीमात्रै होइन उनका पार्टीका अन्य तीन नेता विरुद्ध पनि सहकारी ठगीको आरोप लागेको छ ।

रास्वपाका उपसभापति समेत रहेका पूर्व श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री डोलप्रसाद (डिपी) अर्यालविरुद्ध पनि सहकारी ठगीको आरोप छ । उनीसँगै रास्वपाका सहमहामन्त्री विपिनकुमार अचार्य, कबिन्द्र बुर्लाकोटी पनि मुछिएका छन् । 

अर्याल नयाँ कृषि सहकारी संस्थामा मुछिएका हुन् भने बुर्लाकोटी पनि सोही सहकारीमा मुछिएका छन् । सो सहकारीमा आचार्य पूर्व उपाध्यक्ष र बुर्लाकोटी सञ्चालक रहेका थिए । यो सहकारी समस्याग्रस्त घोषणा भइसकेको छ । 

विपिनले सुप्रिम सहकारीबाट २०७८ सालमा प्रक्रिया पुरा नगरी डेढ करोड रुपैयाँ भन्दा बढी ऋण लिएर गोर्खा मिडिया नेटवर्कको खातामा जम्मा गरेको जिल्ला अदालत रुपन्देहीमा दायर भएको अभियोग पत्रमा उल्लेख छ ।  

वडाध्यक्षदेखि पूर्व सांसदसम्म ठगीमा संलग्न  

सहकारी ठगीमा ठूला नेता मात्रै होइन वडाध्यक्ष पनि संलग्न भएको पाइएको छ । रामेछापको लिखु गाउँपालिका वडा नं. ७ का वडाध्यक्ष कैलाशकुमार दर्लामी, एमाले निकट राष्ट्रिय युवा संघ नेपालका उपमहासचिव शिवबहादुर गुरुङ (मेहेन्द्र भोटे), पूर्व सांसद इच्छाराज तामाङ र एमालेको सहकारी तथा गरिबी निवारण विभागका सचिव समेत रहेका राष्ट्रिय सहकारी बैंकका अध्यक्ष कृष्ण बहादुर (केबी) उप्रेती सहकारी ठगी प्रकरणमा जेल जीवन बिताइरहेका छन् ।   

उनीहरू बाहेक सहकारीको रकम अपचलन गरेको आरोप लागेका नेताहरू भने पक्राउ परेका छैनन । सहकारी ठगीको आरोप लागेका पालिका अध्यक्षदेखि सांसदसम्म फरार छन् । ठगीको आरोप लागेको लामो समय भइसक्दा समेत उनीहरू पक्राउ पर्न सकेका छैनन ।  

नेकपा एमालेका गण्डकी प्रदेश कमिटी सदस्य तथा ढोरपाटन नगरपालिकाका मेयर देवकुमार नेपाली पनि सहकारी ठगीमा मुछिएका छन् । इमेज बचत तथा ऋण सहकारी संस्थाका संस्थापक नेपालीले बचतकर्ताको डेढ अर्ब रुपैयाँ हिनामिना गरेको आरोप छ । सो आरोपछि एमालेले उनलाई निलम्बन गरेको थियो ।

स्याङ्जाको बिरुवा गाउँपालिकाका अध्यक्ष सूर्यबहादुर कुँवरमाथी पनि सहकारीको रकम अपचलन गरेको आरोप लागेको छ । सूर्योदय बचत तथा ऋण सहकारी संस्थामार्फत साढे तीन करोड रुपैयाँ भन्दा बढी रकम हिनामिना गरेको आरोप छ । उनी नेकपा एमालेबाट गाउँपालिका अध्यक्ष बनेका थिए ।  

सहकारी ठगी प्रकरणमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की सांसद गीता बस्नेत पनि मुछिएकी छिन् । नवलपुरको कावासोतीमा रहेको छिपछिपे उपभोक्ता सहकारी संस्था, चितवनको सनराइज सहकारी र बर्दियाको नमस्ते सहकारीका बचतकर्ताको करोडौँ रुपैयाँ अपचलन गरेको बस्नेतविरुद्ध आरोप रहेको छ ।  

पर्दैनन् पक्राउ, हुँदैन अनुसन्धान 

सहकारी ठगी प्रकरणमा मुछिएका सांसद गुरुङले आफूमाथि लागेको आरोप पुष्टि गर्न चुनौती दिए । मंगलबार प्रतिनिधि सभाको बैठकमा उनले भने, ‘म माथी लागेको आरोपबारे सत्यतथ्य छानविन गर्न सभामुख, गृहमन्त्री र सम्बन्धित निकायलाई आग्रह गर्दछु । संसदीय छानविन समिति बनाउने भए पनि म तयार छु ।’ 

उनले यसो भनिरहँदा हामीले स्मरण गर्ने पर्छ की विगतका दिनहरूमा यसरी आरोप लागेपनि पक्राउ गरेर अनुसन्धान गरिएको खासै पाइँदैन । सहकारी ठगीको आरोप लागेका ठूला नेताहरू भने पक्राउ परेका घटना विरलै छन् । 

केही नेताहरू पक्राउ परेपनि ठूला नेताहरूलाई आरोप पछि पक्राउ गरेर उनीहरूमाथि अनुसन्धान भएको पाइँदैन । रास्वपाका सभापति लामिछाने हुन् या कांग्रेसका उपसभापति गुरुङ हुन्, उनीहरूलाई पक्राउ गरेर अनुसन्धान गर्ने सम्भावना न्यून छ ।  

अहिले सहकारीको ठगीको आरोप लागेकामध्ये केही फरार छ । राजनीतिक संरक्षण नहुने छाटकाट देखिएपछि उनीहरू फरार भएको पाइन्छ । तर, जसलाई राजनीतिक संरक्षण हुन्छ न उ फरार हुन्छ न त पक्राउ नै पर्छ । केही दिन चर्चा हुन्छ र विस्तारै सेलाएर उनीहरूमाथि लागेको आरोप गुमराहमा पारिन्छ ।   

तर, नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)का प्रवक्ता तथा सूचना अधिकारी होविन्द्र बोगटी भने प्रहरीले राजनीतिक संरक्षण भएका व्यक्तिलाई पक्राउ नगरेको आरोपलाई भने नकार्छन । उनी भन्छन्, ‘संलग्नता रहेछ भने पक्राउ पर्छन । हामीले राजनीतिक संरक्षण भएका व्यक्ति हो की होइन भनेर हेरेर पक्राउ गर्ने होइन । आरोप लागेपछि संलग्नता छ छैन भनेर हामी हेर्छौँ । यदि संलग्नता रहेछ भने तुरुन्तै पक्राउ गर्छौँ र पक्रेका पनि छौँ ।’   

सहकारी ठगी गरेर फरार भएका पनि पक्राउ गरी रहेको प्रवक्ता बोगटीले दाबी गरे । उनले भने, ‘ठगेर विदेश फरार भएका पनि हामीले पक्राउ गरी रहेका छौ । यसबारे काम गर्ने हाम्रो टिम छ । त्यो टिमले काम गरिरहेको छ ।’   

सहकारी ठगीको आरोप लागेका राजनीतिक दलका नेताहरूमाथि पनि अनुसन्धान गर्नुपर्ने राष्ट्रिय सहकारी महासंघ नेपालकी अध्यक्ष ओमदेवी मल्ल बताउँछिन् । उनी भन्छिन्, ‘सहकारी ठगीको आरोप लागेका नेताहरू माथि पनि छानबिन हुनुपर्छ । सरकारले छानविन समिति पनि बनाएको छ । समितिले छानबिन बढी ध्यान देओस् ।’    

सहकारी बचत रकम अपचलन सम्बन्धी छानबिन गर्न बनेको संसदीय छानविन समितिका सभापति सूर्यबहादुर थापा पनि सहकारी ठगीमा जोडिएका सबैको छानविन हुने दाबी गर्छन् । उनी भन्छन्,‘सहकारी ठगीको आरोप लागेका सबैसँग समितिले सोधपुछ गरिरहेको छ । नयाँ जोडिएकाहरूमाथि पनि अनुसन्धान हुन्छ । दोषी पाइएमा उनीहरूलाई कारबाहीको दायरामा ल्याउन सिफारिस गर्छौँ ।’