शीर्षकहरू

अप्पर स्याङ्गे हाइड्रोपावरले बोलायो साधारण सभा, छैन लाभांश प्रस्ताव

अप्पर स्याङ्गे हाइड्रोपावरले बोलायो साधारण सभा, छैन लाभांश प्रस्ताव

काठमाडौं । अप्पर स्याङ्गे हाइड्रोपावर लिमिटेडले असोज १८ गते आठौं वार्षिक साधारण सभा बोलाएको छ । भदौ २५ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले कुण्डलिनी दरबार ब्याङ्क्वेट, चप्पल कारखाना चोक, काठमाडौंमा विहान १० बजे सभा गर्ने निर्णय गरेको हो । 

सभाले गत आर्थिक वर्ष ०८०/८१ को वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरण पारित गर्नुका साथै चालू आर्थिक वर्षको लागि लेखापरिक्षक नियुक्ती र निजको पारिश्रमिक निर्धारणको विषय टुङ्ग्याउनेछ । गत वर्ष विभिन्न संस्था तथा व्यक्तिहरुलाई दिएको अनुदान रकम समेत सभाले अनुमोदन गर्ने कार्यक्रम छ । 

२०८० साल असार २२ गते सर्वसाधारणमा आईपीओ बाँडफाँट गरेको यस कम्पनीले लाभांश प्रस्ताव भने गरेको छैन् । यस कम्पनीले निर्माण गरेको २ दशमलव ४ मेगावाट क्षमताको माथिल्लो स्याङ्गे खोला साना जलविद्युत आयोजनाबाट २०७८ साल फागुन १५ गतेदेखि विद्युत उत्पादन सुरु भइसकेको छ । 

साधारण सभा प्रयोजनका लागि कम्पनीले असोज ४ गते एक दिन बुक क्लोज गर्न लागेको छ । बुक क्लोजको आधारमा असोज ३ गते संविधान दिवसको सार्वजनिक विदा परेकाले असोज २ गतेसम्म कायम शेयरधनीहरू मात्र सभामा भाग लिन सक्नेछन् ।