शीर्षकहरू

हिमालयन उर्जा विकास कम्पनीको हकप्रद शेयर भएन बिक्री

हिमालयन उर्जा विकास कम्पनीको हकप्रद शेयर भएन बिक्री

काठमाडौं । हिमालयन उर्जा विकास कम्पनी लिमिटेडले शतप्रतिशत हकप्रद शेयर जारी गर्दा १४ लाख ४६ हजार ३५९ कित्ता शेयर भने विक्री हुन नसकेको बताएको छ । कम्पनीले बुधवार हकप्रद शेयर बाँडफाँटको सूचना जारी गदौ ९९ लाख कित्ता हकप्रद शेयर विक्री खुला गर्दा ८४ लाख ५३ हजार ६४१ कित्ता हकप्रद शेयर मात्र वितरण भएको जानकारी दिएको हो । 

कम्पनीले असार १९ गतेसम्म कायम शेयरधनीहरूका लागि प्रतिशेयर १०० रुपैयाँ  अंकित मूल्यका ९९ लाख कित्ता हकप्रद शेयर साउन २९ गतेदेखि भदौ १२ गतेसम्म विक्री गरेको थियो । 

तोकिएको अवधिभित्र रितपूर्वक आवेदन दिएका ३१ हजार ५८३ जना शेयरधनीहरूमा भदौ २५ गते हकप्रद शेयर बाँडफाँट गरिएको जानकारी कम्पनीले दिएको हो । हकप्रद शेयर बाँडफाँटमा नपरेको रकम भदौ २८ गतेदेखि आवेदकहरूको बैंक खातामै फिर्ता भुक्तानी गरिने जानकारी समेत कम्पनीले दिएको छ ।

कम्पनीले पहिलो चरणमा विक्री गर्न नसकेको १४ लाख ४६ हजारभन्दा बढी कित्ता शेयर भने लिलामी प्रक्रियाबाट विक्री गर्नेछ । सम्पूर्ण कित्ता शेयर बाँडफाँटपछि कम्पनीको चुक्तापूँजी १ अर्ब ९८ करोड रूपैयाँ कायम हुनेछ । कम्पनीको हकप्रद शेयर निष्कासन तथा विक्री प्रबन्धकमा नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेड रहेको छ । 

यस कम्पनीले दुई योजनाहरूबाट विद्युत विक्री गरिरहेको छ । कम्पनीले रामेछाप जिल्लामा ७ मेगावाट क्षमताको अपर खिम्ती जलविद्युत आयोजना र १२ मेगावाट क्षमताको उपल्लो खिम्ती जलविद्युत आयोजनाबाट विद्युत विक्री आम्दानी गर्दै आएको हो । हकप्रद शेयर निष्कासनबाट संकलित पूँजी कम्पनीले विभिन्न बैंकबाट लिएको दिर्घकालिन ऋणको भुक्तानी गर्ने बताएको छ ।

कम्पनीले शतप्रतिशत हकप्रद शेयर निष्कासनका लागि नियामक निकाय नेपाल धितोपत्र बोर्डबाट असार ७ गते अनुमति पाएको थियो भने हकप्रद शेयर निष्कासन प्रयोजनका लागि असार २० गते एक दिन बुक क्लोज गरेको थियो ।