सङ्खुवासभा । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले विकास–निर्माणका काममा अवरोध नगर्न सम्बद्ध सबैलाई आग्रह गरेका छन् । धर्मदेवी नगरपालिकाले आज मुढेशनिश्चरे बजारमा आयोजना गरेको कार्यक्रममा उहाँले जनताको विकासका चाहना पूरा गर्न जनप्रतिनिधि तथा कर्मचारी दत्तचित्त भएर लाग्नुपर्नेमा जोड दिएका हुन् ।
मन्त्री खड्काले स्थानीय तहका निम्ति विनियोजित बजेट उपयोग नहुँदा विकास–निर्माणका काम प्रभावित भएका बताए । उनले ऊर्जा, जलस्रोत र सिँचाइ क्षेत्रमा समस्या समाधानमा लाग्ने प्रतिबद्धता पनि व्यक्त गरे ।
जल तथा ऊर्जा आयोगको सचिवालयका सचिव सुरेश आचार्यले जलविद्युत्, पर्यटन र कृषि क्षेत्रको प्रचुर सम्भावना भएको जिल्ला सङ्खुवासभाले ती स्रोतको सदुपयोग गरी विकासमा फड्को मार्नसक्ने उल्लेख गरे । उनले आगामी १० वर्षमा २८ हजार पाँच सय मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्यका साथ सचिवालयले काम गरिहेको बताए ।