शीर्षकहरू

स्थानीय तहमा आएको बजेटलाई पूर्ण कार्यान्वयन गर्न मन्त्री खड्काको आग्रह

स्थानीय तहमा आएको बजेटलाई पूर्ण कार्यान्वयन गर्न मन्त्री खड्काको आग्रह

संखुवासभा ।  ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले स्थानीय तहमा आएको बजेटको पूर्ण कार्यान्वयनका लागि आग्रह गरेका छन । संखुवासभाको मादी नगरपालिकाले मंगलबार  साँझ  आयोजना गरेको ‘बधाई तथा सम्मान’ कार्यक्रममा उनले सबै राजनीतिक दल, सरोकार भएकाहरू र जनतालाई साथमा लिएर बजेट कार्यान्वयनमा लाग्नुपर्ने बताए ।

“जनतालाई स्थानीय सरकार भएको आभाष गराउने गरी काम गर्नुपर्छ । सबै पार्टीसँग हातेमालो गरेर स्थानीयस्तरका समस्या समाधान गर्न र बजेटको सही कार्यान्वयन भएमा पक्कै पनि यहाँको विकास हुनेछ । यसतर्फ लाग्न यहाँहरू सबैलाई मेरो आग्रह छ”, उनले भने ।

मन्त्री खड्काले जनताको ईच्छा र आकाङ्क्षानुसार सबै तहका सरकारले काम गर्नुपर्ने उल्लेख गरे । “म यस क्षेत्रको जनप्रतिनिधि सङ्घीय सरकारको मन्त्री भएको छु, यसर्थमा पनि मादी र सिङ्गो संखुवासभाको विकासमा मेरो पनि दायित्व छन् । त्यसैले संखुवासभाबासीले थप लाभ पाउनेगरी काम गरिरहेको छु ।”, उनको भनाइ थियो । ऊर्जामन्त्री खड्काले यस वर्षभित्र संखुवासभाका सबै स्थानमा विद्युतीकरण गर्ने गरी सरकारले काम गरिरहेको उल्लेख गरे । 

मादी नगरप्रमुख जीवन लिंथेपले निर्वाचनताका गरिएका बाचा पूरा गर्न स्थानीय सरकार लागिरहेको र यसमा केन्द्र सरकारले सहयोग गरे थप सहज हुने  बताए । उनले विकास निर्माणको काममा नगरपालिकाले राजनीति नगर्नेसमेत जिकिर गरे ।