शीर्षकहरू

अब कहिल्यै उड्ने छैन बुद्धको एटिआर–४२ ‘नाइनएन–एआइएन’ कलसाइन विमान

अब कहिल्यै उड्ने छैन बुद्धको एटिआर–४२ ‘नाइनएन–एआइएन’ कलसाइन विमान

काठमाडौं ।  त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा मङ्गलबार उत्सव मनाउनेगरी सजधज तय गरिएको थियो । नेपाली आकाशमा १६ वर्ष उडान भरेको बुद्ध एयरको एटिआर–४२ ‘नाइनएन–एआइएन’ कलसाइन विमानको बिदाइ समारोह भव्य तुल्याइएको थियो । 

उक्त विमानलाई औपचारिक बिदाइ गर्ने वातावरण निकै भावुक पनि थियो । आफ्नो व्यावसायिक उडानमा रहेको विमानलाई बिदा गर्ने क्षणमा बुद्ध एयरका कार्यकारी अध्यक्ष वीरेन्द्रबहादुर बस्नेत भावुक थिए । बुद्ध एयरका कर्मचारी परिवार मात्रै हैन उपस्थित सरोकारवाला र सञ्चारकर्मी पनि भावुक भएका थिए । लामो समय यात्रुलाई सेवा दिएको विमान बिदाइ गर्दा भावुक माहोल सिर्जना हुनु स्वाभाविक पनि हो ।
     
“आजको समारोह विश्वव्यापी रूपमा एटिआर विमान सञ्चालनको इतिहासमा कोसेढुङ्गा हो । हामीले ७० हजार साइकलको पूर्ण आर्थिक जीवन र त्यो पनि व्यावसायिक यात्रु सञ्चालनमार्फत प्रतिस्पर्धा गर्ने पहिलो एटिआरलाई बिदाइ गर्दैछौँ । साच्चै यो ऐतिहासिक क्षण हो”, अध्यक्ष बस्नेतले भने । उनले आगामी दिनमा नेपाल र नेपालीका लागि उत्कृष्ट उड्डयन सेवा प्रदान गर्न प्रतिबद्धताका साथ लाग्ने बताए । 

अध्यक्ष बस्नेतले एटिआर विमानको मर्मतसम्भार र उडान सञ्चालनमा बुद्ध एयरको टेक्निकल तथा अपरेसन टिम विकसित राष्ट्रको भन्दा कम नरहेको दाबी गरे । “सन् २००८ मा दुई वटा एटिआर–४२ विमान भित्र्याएर उडानको फड्को मारौँ अब, यो विमान इतिहास बनेको छ । बाँकी १८ एटिआर विमानले सेवालाई थप सुरक्षित र प्रभावकारी बनाउछौँ”, अध्यक्ष बस्नेतले भने ।
     
उडान अवधिमा ७० हजार उडान अवतरण (साइकल) गरेको एटिआर–४२  विमानलाई पहिलो पटक आज बिदाइ गरिएको हो । एटिआरको इतिहासमा यो नै पहिलो बिदाइ कार्यक्रम भएको बुद्ध एयरका बजार निर्देशक रुपेश जोशीले बनाए । कूल ४५ सिट क्षमताको एटिआर विमानले १६ वर्षमा ४४ हजार चार सय ७७ उडानमार्फत एक दशमलव आठ मिलियन यात्रुलाई सेवा प्रदान गरेको कम्पनीले उल्लेख गरेको छ ।
     
बुद्ध एयरको टेक्निकल डिपार्टका निर्देशक मंगेश थापाले एटिआर कम्पनीको मापदण्डअनुरुप विमानले निश्चित साइकल पूरा गरिसकेपछि उडानबाट ‘रिटायर्ड’ हुने भएकाले विमानलाई उडानबाट बिदाइ गरिएको बताए । “अन्य सिरिजका जहाजले ७० हजार साइकल पूरा गरेपछि पनि उडानमा ल्याएका हुन्छन् तर एटिआरको मापदण्ड नै ७० हजार साइकल भएकाले यसलाई उडानबाट बिदा गरिएको हो”, उनले भने। उनले उडानबाट बिदाइ भएको विमानको बाहिरी भाग नियामक नेपाल नागरिक उड्डयन प्राधिकरणलाई बुझाइने र विमानभित्रका पार्टपुर्जा अन्य जहाजको मर्मतमा प्रयोग गरिने जानकारी दिए ।