शीर्षकहरू

भोलिदेखि देशभरका व्यवसायीले सामसुङ मोबाइल नबेच्ने

भोलिदेखि देशभरका व्यवसायीले सामसुङ मोबाइल नबेच्ने

काठमाडौं । नेपाल मोबाइल व्यवसायी महासंघले भोलिदेखि देशभर सामसुङ मोबाइल बिक्री वितरणमा रोक लगाउने घोषणा गरेको छ । यसअघि सुदूरपश्चिम प्रदेशमा मोबाइल बिक्री रोकेकोमा सामसुङ नेपालले व्यवसायीका माग पूरा नगरेको भन्दै देशभर प्रतिबन्ध लगाउने घोषणा गरेको हो ।

महासंघले मंगलबार एक विज्ञप्ति जारी गर्दै  २६ गते (बुधबार) बिहानेदेखि पहिलो दुई दिन (२६ र २७ भाद्र) देशभर सामसुङ नेपालका सम्पूर्ण ब्राण्डका मोबाइलका भिजिबिलिटी (मोबाइल डिस्प्ले) पसलबाट हटाउने र त्यस अवधिमा पनि कम्पनीमार्फत वार्ता र सहमतिको वातावरण नबनाइए थप दुई दिन (२८ र २९ भाद्र) कम्पनीका व्यवसायिक प्रतिनिधि (प्रमोटर) लाई फिर्ता पठाउने निर्णय भएको जनाएको छ ।

त्यसपछिसमेत वार्ता र सहमतिको प्रयास नभए थप दबाबमूलक कार्यक्रम घोषणा गरिने महासंघले जनाएको छ ।

गत भदौ २० गते सामसुङ नेपालले सुदूरपश्चिमको धनगढीमा ‘सामसुङ रिटल मिट’ कार्यक्रममा कम्पनी प्रतिनिधि र मोबाइल व्यवसायीबीच विवाद भएको थियो । कार्यक्रममा मार्जिन बढाउने विषयमा विवाद भएको थियो । तर कम्पनीका प्रतिनिधिले सुन्न नचाहेको भन्दै व्यवसायीहरू कार्यक्रम बहिष्कार गरेर निस्किएका थिए ।

त्यसपछि भदौ २१ गते मोबाइल व्यवसायी महासंघ सुदूरपश्चिम प्रदेश कमिटीको बैठकले सुदूरपश्चिममा सामसुङका फोन बिक्री वितरण रोक्ने निर्णय गरेको थियो ।

यो पनि : ​​​​​​​
सामसुङ र मोबाइल व्यवसायीबीच विवाद चुलिँदै: सुदूरपश्चिममा किनबेच ठप्प, देशभर के होला ?