शीर्षकहरू

अब देशभर सरकारी कार्यालयमा टीएमएस नचल्ने

अब देशभर सरकारी कार्यालयमा टीएमएस नचल्ने

काठमाडौं । सरकारले देशभर सरकारी कार्यालयहरूमा अबदेखि शेयर खरिदबिक्रीका लागि प्रयोग हुने ट्रेड म्यानेजमेन्ट सिस्टम (टीएमएस) बन्द गर्ने भएको छ । मंगलबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्‌को कार्यालयले सबै मन्त्रालय, आयोग, सचिवालय तथा प्रमुख सचिव, मुख्यमन्त्री तथा सबै प्रदेशका मन्त्रिपरिषद्‌ कार्यालयलाई टीएमएस नचलाउने व्यवस्था गर्न पत्राचार गरेको छ ।

कार्यालय समयमा कर्मचारीहरू शेयर कारोबारमा लागेको भनेर उजुरी परेपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले टीएमएस  बन्द गराउन प्रधानमन्त्री तथा मन्त्रिपरिषद्‌ कार्यालयमार्फत पत्राचार गराउन भनेको थियो । अख्तियारले गएको शुक्रबार कार्यालय समयमा टीएमएस चलाउने व्यवस्था बन्द गर्न भन्दै प्रधानमन्त्री कार्यालयमा पत्राचार गरेको थियो ।

सोहीअनुसार प्रधानमन्त्री कार्यालयले नेपाल सरकारका सबै सरकारी तथा सार्वजनिक निकायहरुमा कार्यालय समयमा टीएमएस नचलाउने व्यवस्था गर्न र सो समयमा टीएमएस चलाएको वा नचलाएको सम्बन्धमा सूचना प्रविधिको प्रयोग गरी चेकजाँच गर्न सकिने व्यवस्था मिलाउन पत्राचार गरेको हो ।

यसका लागि प्रादेशिक समन्वय महाशाखालाई सबै प्रदेशमा परिपत्र गर्न र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई सबै स्थानीय तहहरुमा परिपत्र गर्न पनि निर्देशन दिइएको छ ।