शीर्षकहरू

विदेशी काठ आयात प्रतिस्थापन गर्न सांसदहरुको माग

विदेशी काठ आयात प्रतिस्थापन गर्न सांसदहरुको माग
फाइल तस्वीर

काठमाडौँ । सांसदहरुले स्वदेशी काठको उत्पादन बढाएर विदेशी काठ प्रतिस्थापनमा जोड दिएका छन् । आज बसेको राष्ट्रियसभाको बैठकमा बोल्दै सांसदहरुले मुलुकको आर्थिक विकासका लागि काठलगायत वन पैदावारको आयात प्रतिस्थापन गर्नुपर्नेमा जोड दिए । 

बैठकको विशेष समयमा बोल्दै सांसद नारायणदत्त मिश्रले मुलुकमा वन र कृषिविज्ञ भए पनि  देशमा कृषि उपज तथा काठ आयात भइरहेको उल्लेख गरे । उनले कृषि तथा वनपैदावार आयात प्रतिस्थापन गर्दै निर्यात प्रवर्द्धनमा जोड दिनुपर्ने बताए। “हामी वनजङ्गलको धनी मुुलुक भन्छौँ, वनमा बुढा काठ सडाएर विदेशबाट काठ ल्याउनु उपयुक्त होइन । तसर्थ स्वदेशी जङ्गलका काठ व्यवस्थापन गरेर विदेशी काठ आयात प्रतिस्थापन गर्नुपर्छ,” उनले भने, “हामी कृषिप्रधान मुलुक भन्छौँ तर कृषिजन्य वस्तु आयात गरेर मुलुक कहिले धनी बन्छ  रु कृषि उत्पादन बढाउन सरकारले जोड दिनुपर्छ ।”

यसैगरी, उनले विदेशी ऋण मुलुकको आवश्यकताका आधारमा मात्रै लिनुपर्ने बताए । मिश्रले निःशुल्क शिक्षा र निःशुल्क स्वास्थ्य सेवा उपलब्ध हुनुपर्नेमा जोड दिए । 

सांसद तुलसाकुमारी दाहालले नालापानीको युद्धमा विगतमा मुलुकलाई जोगाउने नेपालीको बहादुरीको प्रशंसा गरिन् । सांसद झक्कुप्रसाद सुवेदीले ठूला शक्तिशाली पार्टीसँगसँगैै सरकारमा बसेको संसदीय दलमा अहिलेसम्म कुनै ‘रेकर्ड’ नभएको भन्दै यी ठूला दलले मात्रै संविधान संशोधन गर्नुपर्नेमा जोड दिनु गम्भीर विषय भएको बताइन् । “यो संविधान धेरैको बलिदानबाट आएको हो, यो संविधान नेपाली जनताको घर हो,” उनले भनिन्, “तसर्थ दुई ठूला पार्टीले मात्रै संविधान संशोधन गर्न सक्दैन, यो कदापि मिल्दैन ।”