शीर्षकहरू

नेप्से परिसूचक पाँच दिनदेखि ओरालो यात्रामा, कारोबार रकम पनि घट्दो

नेप्से परिसूचक पाँच दिनदेखि ओरालो यात्रामा, कारोबार रकम पनि घट्दो

काठमाडौं । साताको तेस्रो कारोबार दिन मंगलबार पनि शेयर बजार ओरालो लागेको छ । यसदिन नेप्से परिसूचक १३.०९ अंकले घटेर २६३२.९४ विन्दुमा झरेको छ ।

नेप्से पछिल्लो पाँच दिन यता निरन्तर ‌ओरालो यात्रामा छ । गत साताको बुधबार ९०.७३ र बिहीबार १२.१० अंकले घटेको पुँजीबजार यो साताका तीनै कारोबार दिन घटेको छ ।

नेप्से आइतबार २५.४६ अंक र सोमबार ५५.८६ अंकले घटेको थियो ।

आज सेन्सेटिभ इन्डेक्स शून्य दशमलव ३८ प्रतिशत,फ्लोट इन्डेक्स शून्य दशमलव ५० प्रतिशत र सेन्सेटिभ फ्लोट इन्डेक्स शून्य दशमलव ४० प्रतिशत घटेको छ । आज १३ उपसमूहमध्ये व्यापार समूहको ०.७९ प्रतिशत बढेकोमा होटल तथा पर्यटनको सूचक स्थिर छ भने अन्य सबै समूहको शेयर घटेको छ ।

नेप्सेसँग कारोबार रकम पनि निरन्तर घट्दै गएको छ । आज ७ अर्ब २४ करोड ५५ लाख ६८ हजार रुपैयाँ बराबरको १ करोड ९० लाख ७७ हजार ५ सय ८३ कित्ता शेयर खरिदबिक्री भएको छ । आजको कारोबार रकम पछिल्लो करिब दुई महिनायताकै न्यून हो । 

अघिल्लो कारोबार दिन रू. ९ अर्ब ४३ करोड बराबरको शेयर खरिदबिक्री भएको थियो ।

आजको कारोबारमा मानुषी लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्यमा सकारात्मक ‘सर्किट’ लागेको छ । सबैभन्दा धेरे घट्नेमा भने सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम–३ को शेयर मूल्य आठ दशमलव ८२ प्रतिशतले घटेको छ ।

कारोबार रकम र कारोबार भएका शेयर सङ्ख्याका आधारमा आज सबैभन्दा धेरै हाइड्रो इलेक्ट्रिसिटी इन्भेस्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनी लिमिटेड प्रमोटर शेयर रु २९ करोड ८१ लाख ५४ हजार बराबरको १६ लाख ६४ हजार ८५ कित्ता किनबेच भएको छ ।