शीर्षकहरू

एनएलजी इन्स्योरेन्सले ६२.५६ प्रतिशत हकप्रद शेयर जारी गर्ने

एनएलजी इन्स्योरेन्सले ६२.५६ प्रतिशत हकप्रद शेयर जारी गर्ने

काठमाडौं । एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडले ६२ दशमलव ५६ प्रतिशत हकप्रद शेयर निष्कासन गर्ने भएको छ । यस अघि कम्पनीले ६६ प्रतिशत हकप्रद शेयर निष्कासन गर्ने प्रस्ताव पारित गरेको थियो । कम्पनीले तत्कालित कायम रहेको १ अर्ब ४५ करोड ९२ लाख ७५ हजार ७९० रुपैयाँ चुक्तापूँजीको आधारमा ६६ प्रतिशत हकप्रद शेयर निष्कासन गर्ने प्रस्ताव २०८० साल साउन १५ गते सम्पन्न विशेष साधारण सभाबाट पारित गरेको थियो । 

सोही निर्णय बमोजिम कम्पनीले २०८० साल कात्तिक २ गते ६६ प्रतिशत हकप्रद शेयर निष्कासनका लागि नेपाल धितोपत्र बोर्डमा आवेदन पेश गरेको थियो । बोर्डबाट स्वीकृति प्राप्त नहुँदै २०८० साल फागुन ३ गते सम्पन्न १८औं वार्षिक साधारण सभाबाट १ अर्ब ४५ करोड ९२ लाख ७५ हजार ७९० रुपैयाँको आधारमा ५ दशमलव ५० प्रतिशत बोनस शेयर पारित भई उक्त बोनस शेयर वितरणपछि १ अर्ब ५३ करोड ९५ लाख ३५ हजार ९५८ रुपैयाँ चुक्तापूँजी कायम भएको छ । 

भदौ २४ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले पूर्व निर्णय पुनारावलोकन गरी हाल कायम चुक्तापूँजीको आधारमा ६२ दशमलव ५६ प्रतिशत हकप्रद शेयर निष्कासन गर्ने निर्णय गरेको हो । प्रस्तावित हकप्रद शेयर नेपाल बीमा प्राधिकरणको स्वीकृतिपछि कम्पनीको आगामी साधारण सभाबाट पारित भएपछि बोर्डमा निवेदन प्रक्रिया अघि बढ्नेछ ।