शीर्षकहरू

विकासका लागि कटिवद्ध भएर लाग्न कर्मचारीलाई उर्जामन्त्री दीपक खड्काको निर्देशन

विकासका लागि कटिवद्ध भएर लाग्न कर्मचारीलाई उर्जामन्त्री दीपक खड्काको निर्देशन

खाँदबारी ।  उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्काले दायित्व बोध हुनेगरी कार्यसम्पादन गर्न कर्मचारीलाई निर्देशन दिए । जिल्ला प्रशासन कार्यालय संखुवासभामा सोमबार साँझ आयोजित जिल्लास्थित कार्यालयका प्रमुखसँगको भेटमा उनले संखुवासभाको विकासका लागि कटिवद्ध भएर लाग्न निर्देशन दिएका हुन ।
 
मन्त्री खड्काले संखुवासभाका कतिपय स्थानीय तहमा कर्मचारीको अभाव हुँदा कार्यसम्पादनमा समस्या भएको उल्लेख गरे । “म नेपाल सरकारको मन्त्रीसँगै यस क्षेत्रको जनप्रतिनिधीसमेत हुँ, यस क्षेत्रको विकासका लागि तपाईँहरु कटिवद्ध भएर लाग्नुहोस्,”– मन्त्री खड्काले भने । 

उनले कर्मचारीले राम्रोसँग कार्यसम्पादन नगर्दा यसको असर राज्यलाई पर्ने बताए । मन्त्री खड्काले प्रत्येक १५ दिनमा सबै कार्यालयको प्रमुखलाई बोलाएर कार्यसम्पादनका क्रममा भएका समस्यालाई बुझ्न प्रमुख जिल्ला अधिकारीलाई निर्देशन समेत दिए। राजनीतिक पूर्वाग्र्रह राखे विकासको काम न्यायोचित नहुने उनको भनाई थियो । 

उर्जामन्त्री खड्काले आगामी एक वर्षभित्र संखुवासभाका सबै स्थानमा पूर्ण विद्युतीकरण भईसक्ने समेत उल्लेख गरे । यस्तै, उहाँले अपर अरुण परियोजना र अन्य अन्य आयोजनालाई समेत चाँडो अगाडि बढाउनेगरी सरकारले काम गर्ने बताए । 

मन्त्री खड्काले सबै पालिकाले अग्रीम सूचना पाउने गरी सूचना प्रणाली जडान गर्ने, बाँझो जमीनमा सिंचाई सुविधा पु¥याउने, खाली जग्गमा सोलार प्रणाली जडान गर्नेलगायतका कामलाई समेत अगाडि बढाईने उल्लेख गरे । उनले विद्युतको लाईसेन्स लिने तर काम नगर्नेको लाईसेन्स रद्द गर्ने समेत बताए । संखुवासभाका गरिब र विपन्न नागरिकको न्यायोचित व्यवस्थापन गर्न जरुरी रहेको उनको भनाई थियो । 

उर्जा, जलस्रोत तथा सिंचाई विभागका सचिव गोपालप्रसाद सिग्देल र जल तथा उर्जा आयोग सचिवालयका सचिव सुरेश आचार्यले संखुवासभाका ९० प्रतिशतभन्दा बढी स्थानमा विद्युतीकरण भएको भन्दै बाँकी स्थानमा पनि चाँडो विद्युतीकरण गरिने बताए । उनहरुले अपर अरुण जलविद्युत आयोजनालाई नेपालले आफ्नै लगानीमा भएपनि सम्पन्न गर्न लाग्नुपर्ने बताएका थिए ।