शीर्षकहरू

कोरोना बीमा मुद्दामा सर्वोच्चको कारण देखाऊ आदेश

कोरोना बीमा मुद्दामा सर्वोच्चको कारण देखाऊ आदेश

काठमाडौं । कोरोना बीमाको दाबी भुक्तानी रकम माग गर्दै नेपाल बीमक संघले दिएको रिटमा सर्वोच्च अदालतले कारण देखाउ आदेश दिएको छ । न्यायाधीश अब्दुल अजीज मुसलमानको एकल इजलासले सोमबार १५ दिनको अवधि दिएर सरकारका नाममा कारण देखाउ आदेश दिएको हो।

संघले सरकारले प्रतिबद्धता गरे अनुसार कोरोना बीमाको रकम भुक्तानी नगरेको भन्दै आइतबार सर्वोच्चमा रिट दायर गरेको थियो । 

नेपाल बीमा प्राधिकरणको तथ्यांक अनुसार कोरोना बीमा मापदण्ड बमोजिम नेपाल सरकारले ११ अर्ब ३४ करोड रुपैयाँ कोरोना बीमा दाबी रकम भुक्तानी गर्न बाँकी छ ।  जसमध्ये दुई करोड तीन लाख रुपैयाँ बीमा शुल्क अनुदान तर्फको बाँकी छ भने दाबी भुक्तानी तर्फको भने ११ अर्ब ३२ करोड रुपैयाँ बाँकी रहेको प्राधिकरणको तथ्यांक छ । गत वर्ष पहिलो चरणमा भन्दै सरकारले एक अर्ब रुपैयाँ निकासा गरेको थियो । 

प्राधिकरणका अनुसार कम्पनीहरूले १७ लाख ५८ हजार ३४३ जनाले कोरोना बीमा पोलीसी बिक्री गरेका थिए । अनुदान अन्तर्गत नौ लाख ५८ हजार १९८ वटा पोसिली जारी भएको थियो । कम्पनीहरूमा एक लाख ६५ हजार ५९ वटा कोरोना बीमा दाबी बापत १५ अर्ब ८२ करोड रुपैयाँ बराबरको दाबी परेको थियो । 

दाबीमध्ये कोरोना बीमा पुलबाट ३५ हजार ५९५ वटा बीमा दाबी बापत तीन अर्ब ५० करोड रुपैयाँ भुक्तानी भइसकेको छ । कोरोना बीमा मापदण्ड बमोजिम सरकारले एक लाख २९ हजार ४६४ वटा दाबी बापत ११ अर्ब ३२ करोड रुपैयाँ बराबर रकम भुक्तानी गर्न बाँकी छ । सरकारले ३४ हजार १७० वटा दाबी बापतको तीन अर्ब रुपैयाँ अग्रिम भुक्तानी गरेको छ ।