शीर्षकहरू

इजरायलको केयरगिभरको आवेदनमध्ये १८४ वटामा त्रुटि भेटियो, अग्रेजी भाषा परीक्षणको प्रमाणपत्र नै नक्कली

इजरायलको केयरगिभरको आवेदनमध्ये १८४ वटामा त्रुटि भेटियो, अग्रेजी भाषा परीक्षणको प्रमाणपत्र नै नक्कली

काठमाडौं । इजरायलको दीर्घकालिन स्याहार केन्द्रमा सहायक कामदार (केयरगिभर) का लागि परेको आवेदन माथि श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय गरेको छानबिनमा १८४ वटा आवेदनमा कैफियत भेटिएको छ । तीन हजार ४६१ वटा आवेदनमध्ये सो संख्याको आवेदनमा त्रुटी पाइएको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव मुकुन्द प्रसाद निरौलाले बताए । 

छानबिनमा आवेदकले अंग्रेजी भाषा परीक्षणको  प्रमाणपत्र अर्को व्यक्तिको पेश गरेको पाइएको सचिव निरौलाले बताए । त्यस्तै, उम्मेदवारले पेश गरेको तालिमको प्रमाणपत्रमा उल्लेख भएको मिति भन्दा पासपोर्ट जारी भएको मिति पछि भएको तर, प्रमाणपत्रमा सोही पासपोर्ट नम्बर उल्लेख भएको पाइएको छ । विभागले तोके अनुसार अनमी र सिएमए तालिमको अवधि नपुगेको र शैक्षिक प्रमाणपत्र पेश नभएको पाइएको छ । तालिम प्रदायक संस्थाहरूले सम्बन्धन प्राप्त गरेको मिति भन्दा पहिला नै प्रमाणपत्र जारी भएको पाइएको सचिव निरौलाले बताए । 

छानबिन समितिले श्रममन्त्री शरदसिंह भण्डारीलाई पाँच दिन अगाडि नै प्रतिवेदन बुझाइसकेको छ । प्राप्त प्रतिवेदन माथि अध्ययन भै रहेको श्रम सचिव निरौलाले बताए । ‘समितिले प्रतिवेदन दिएको छ । त्यसलाई कसरी कार्यान्वयन गर्ने भनेर सम्बन्धित शाखाले अध्ययन गरी रहेको छ,’ उनले भने । 

वैदेशिक रोजगार विभागले गत असार ११ गते सूचना जारी गर्दै केयरगिभरका लागि आवेदन खुलाएको थियो । विभागमा परेको आवेदनमा नक्कली प्रमाणपत्र पेश भएको आशंका गरिएपछि मन्त्रालयले छानबिन गर्न समिति गठन गरेको हो । समितिका अनुसार शैक्षिक प्रमाणपत्र, तालिमको प्रमाणपत्र, प्रमाणपत्र उपलब्ध गराउने तालिम प्रदायक संस्थाको विश्वसनियता र संस्थाले लिएको सम्बन्धको मिति लगायतका विषयमा छानबिन गरिएको थियो । 

उता इजरायलले भने विभागले पठाएको आवेदनबाट लक्की ड्र गरी अघिल्लो साता नै दुई हजार २०२ जना नेपाली कामदारलाई छनौट गरिसकेको छ । इजरायलको जनसङ्ख्या तथा अध्यागमन प्राधिकरण (पीबा) ले लक्की ड्र बाट नेपाली कामदारको छनौट गरेको हो  । 

इजरायलको केयरगिभरका लागि चार हजार २४ जनाको आवेदन परेको थियो । जसमा दुई हजार २०९ पुरुष र एक हजार ८१५ महिला थिए । आवेदनमध्ये विभागले तीन हजार ४६१ को स्वीकृत गरेको थियो । जसमा एक हजार ८६३ पुरुष र एक हजार ५९८ महिला थिए । विभागले ३२१ वटा (१९७ पुरुष र १२४ महिला) को आवेदन अस्वीकृत गरेको थियो । कागजात नपुगेका २४२ (१४९ पुरुष, ९३ महिला) को आवेदन अस्वीकृत भएको थियो । विभागले तीन हजार ४६१ (एक हजार ८६३ पुरुष, एक हजार ५९८ महिला) को आवेदन नेमचेकका लागि इजरायल पठाएको थियो । 

इजरायल ५०० मुख्य उम्मेदवार र ३०० वैकल्पिक उम्मेदवारको माग गरेको थियो । केयरगिभरका लागि मासिक तलब पाँच हजार ८८० इजरायली मुद्रा (करिब दुई लाख रुपैयाँ) रहेको विभागले जनाएको छ । इजरायली सरकारको नियमानुसार ओभर टाइमको सुविधा हुनेछ भने कामदारले प्रत्येक हप्ता ६ दिन काम गर्नुपर्नेछ । प्रति हप्ता ४२ घण्टा काम गर्नुपर्नेछ । करार अवधि एक वर्षको हुनेछ । खाना कामदार आफैले व्यहोर्नु पर्नेछ भने बस्ने व्यवस्था रोजगारदाताले गर्नेछ भने तर, त्यसको खर्च कामदार आफैले गर्नुपर्नेछ । करार अवधि अधिकतम पाँच वर्षसम्म थप गर्न सकिनेछ । 

केयरगिभरका चाहिने योग्यता ?

इजरायलको केयरगिभर रोजगारीका लागि जाने कामदार अनिवार्य रुपमा नेपाली नागरिक भएको हुनुपर्नेछ । २५ वर्ष पूरा भई ४५ वर्ष ननाघेको हुनुपर्नेछ । कामदार कम्तीमा १.५ मिटर उचाइ र कम्तीमा ४५ किलोग्राम तौल भएको हुनुपर्नेछ । 

त्यस्तै, कम्तीमा १० कक्षा उत्तीर्ण गरी अनमी वा सिएमए सम्बन्धी विषयमा कम्तीमा १५ महिनाको अध्ययन पूरा गरेको वा १० जोड दुई वा सो सरहको शैक्षिक योग्यता हासिल गरी नेपाल सरकारबाट मान्यता प्राप्त तालिम प्रदायक संस्थाबाट केयरगिभरसँग सम्बन्धित कम्तीमा तीन महिनाको तालिम प्राप्त गरेको हुनुपर्नेछ । 

पासपोर्ट म्याद समाप्त हुन कम्तीमा ३ वर्ष बाँकी रहेको हुनुपर्नेछ । विगतमा इजरायल गई कार्य नगरेको हुनुपर्नेछ । परिवारको सदस्य इजरायलमा बसोबास नगरेको वा कार्यरत नरहेको हुनुपर्नेछ । शारीरिक र मानसिक रुपमा स्वास्थ्य हुनुपर्नेछ । कुनै प्रकारको जीर्ण रोगहरूबाट ग्रसित नभएको र गह्रुङ्गो समान उचाल्न सक्ने लगायत स्याहार केन्द्रमा सहायक कामदारको रुपमा कार्य गर्न सामर्थ्य भएको हुनुपर्नेछ । दुर्व्यसनमा नलागेको हुनुपर्नेछ । 

सहायक कामदार छनौट भएका कामदारले एक तर्फी हवाई भाडाको शुल्क आफैले व्यहोर्नुपर्नेछ । स्वास्थ्य बीमा, पूर्व प्रस्थान अभिमुखीकरण तालिम, पासपोर्ट, स्वास्थ्य परीक्षण, अंग्रेजी भाषा परीक्षण, कोभिड १९ पी.सी.आर परीक्षण, वैदेशिक रोजगार कल्याणकारी कोषको रकम र सामाजिक सुरक्षा कोषमा कामदार आफैले रकम जम्मा गर्नुपर्नेछ  ।