शीर्षकहरू

सामसुङ र मोबाइल व्यवसायीबीच विवाद चुलिँदै: सुदूरपश्चिममा किनबेच ठप्प, देशभर के होला ?

सामसुङ र मोबाइल व्यवसायीबीच विवाद चुलिँदै: सुदूरपश्चिममा किनबेच ठप्प, देशभर के होला ?

काठमाडौं । सुदूरपश्चिम प्रदेशका मोबाइल व्यवसायीहरूले प्रदेशभर सामसुङ मोबाइलको बिक्री वितरण ठप्प पारेका छन् । सामसुङको नेपालका लागि आधिकारिक बिक्रेता आइएमएस ग्रुपअन्तर्गत सामसुङ नेपालसँगको एक कार्यक्रममा भएको विवादलाई लिएर व्यवसायीहरूले बिक्री वितरण ठप्प पारेका हुन् ।

यसरी शुरु भयो विवाद

भदौ २० गते सामसुङ नेपालले सुदूरपश्चिमको धनगढीमा ‘सामसुङ रिटल मिट’ कार्यक्रम आयोजना गरेको थियो । धनगढीको हसनपुरस्थित डिभोटी होटलमा आयोजना गरिएको उक्त कार्यक्रममा प्रदेशभरका एक सयभन्दा बढी मोबाइल व्यवसायीहरू सहभागी थिए ।  

उक्त कार्यक्रममा मोबाइल व्यवसायीहरूले आफ्ना समस्या राखे । तर, उनीहरुको समस्या सामसुङका प्रतिनिधिहरूले सुन्न चाहेनन् । त्यसबीचमा मोबाइल व्यवसायी र प्रतिनिधिबिच भनाभन भयो । अनि व्यवसायीहरू कार्यक्रम बहिष्कार गरेर हिँडे । कार्यक्रम मात्रै होइन, उनीहरूले प्रदेशभर सामसुङ मोबाइल नै बहिष्कार शुरु गरे ।

व्यवसायीको समस्या कम्पनीले सुन्न नचाहेपछि कार्यक्रम बहिष्कार गर्नु परेको नेपाल मोबाइल व्यवसायी महासंघ सुदूरपश्चिम प्रदेशका अध्यक्ष सुरेश सापकोटाले बताए । उनले भने, ‘हामी व्यवसायीका पनि समस्या छन् । ती समस्याहरू हामीले सामसुङ नेपालका प्रतिनिधिसँग राख्दै गर्दा उहाँहरूले सुन्नै चाहनु भएन । हाम्रा कुरा नै नसुन्ने हो भने कार्यक्रममा बस्नुको अर्थ रहेन । अनि हामी बहिष्कार गरेर हिड्यौं ।’

कार्यक्रममा मार्जिन बढाउने विषय विवाद भएको थियो । सामसुङ नेपाल र व्यवसायीबीच भएको विवादको भोलिपल्ट भदौ २१ गते मोबाइल व्यवसायी महासंघ सुदूरपश्चिम प्रदेश कमिटीको बैठक बस्यो । उक्त बैठकले सामसुङ मोबाइल नबेच्ने निर्णय गर्यो। 

निर्णयमा उल्लेख छ, ‘भदौ २७ गतेसम्म मोबाइल व्यवसायीको काउण्टरमा सामसुङ मोबाइल शो नगर्ने, सामसुङ विक्री वितरण नगर्ने, नयाँ विलिङ नगर्ने, साथै सामसुङ मोबाइलको ईएमआई नगर्ने निर्णय भएको छ ।’    

अध्यक्ष सापकोटाका व्यवसायीलाई व्यवसाय गरेबापत व्यवसायीको हकका रूपमा प्रदान गरेको सामान खुद्रा बिक्री गरेबापत न्यूनतम मुनाफा पाउनुपर्ने माग विगतदेखि नै व्यवसायीहरूले गर्दै आएका छन् । यस मागमा सबै कम्पनीहरुले क्रमगतरुपमा मुनाफा वृद्धि गर्दै गएको पनि उनीहरूको भनाइ छ । तर सामसुङ कम्पनीले उपलब्ध गराउने ४ प्रतिशत मुनाफाले सामसुङ कम्पनीले नयाँ सेटमा उपलब्ध नगराउने भनेको छ । यसले व्यवसायीलाई कुनै फाइदा नभएको उनीहरूको तर्क छ ।

पछिल्लो समय मोबाइल व्यवसायीहरूले मोबाइल फोनको कारोबारमा व्यवसायीहरूले प्राप्त गर्ने मार्जिन बढाउनुपर्ने माग गर्दै आइरहेका छन् । उनीहरूले अन्य कम्पनीहरुले व्यवसायीलाई दिने मार्जिन बढाउँदा पनि सामसुङले नबढाएको भन्दै असन्तुष्टि जनाउँदै आएका छन् ।

‘व्यवसायी बाँच्ने भनेको मार्जिनले नै हो । अन्य ब्राण्डका मोबाइल बिक्री गर्दा हामीले ७ प्रतिशतसम्म मार्जिन पाउँछौँ । तर सामसुङमा जम्मा ४ प्रतिशत मात्रै छ । त्यसमा पनि हामीले ग्लास, कभर, एयरफोन दिनुपर्छ । यसो गर्दा व्यवसायी मार्कामा परेका छन्’, आर्थिक न्युजसँगको संवादमा अध्यक्ष सापकोटाले गुनासो गरे ।  

देशभर बिक्री बन्द गरिँदै  

मोबाइल व्यवसायीहरूले देशभर सामसुङ मोबाइल बिक्री वितरण ठप्प पार्ने तयारी थालेका छन् । व्यवसायीको यस्तो तयारीबारे नेपाल मोबाइल व्यवसायी महासंघका केन्द्रीय अध्यक्ष भरत भट्टराई भन्छन्, ‘अहिले सुदूरपश्चिम प्रदेशमा सामसुङ मोबाइल बिक्री वितरण बन्द गरिएको छ । हामी व्यवसायीको माग सम्बोधन नभए देशभर सामसुङ मोबाइल बिक्री वितरण रोक्छौँ ।’

आज (सोमबार) सामसुङ नेपाल र मोबाइल व्यवसायीका प्रतिनिधिबिच वार्ताको तयारी गरिएको थियो । तर, सामसुङ नेपालले भने वार्ता बस्न मानेन । सोमबारका लागि वार्ता गर्ने भनिए पनि केही समयअघि मात्रै सामसुङ नेपालका प्रतिनिधिहरूले वार्ता बस्न नसक्ने जानकारी व्यवसायीलाई गराएका छन् ।  

वार्ताबाट समस्याको समाधान गर्ने तयारी हुँदाहुँदै सामसुङ नेपालले बेवास्ता गरेका कारण कडा कदम चाल्न बाध्य भएको मोबाइल व्यवसायी महासंघका केन्द्रीय अध्यक्ष भट्टराईले बताए । अध्यक्ष भट्टराइले भने, ‘हामी वार्ताबाटै समस्या समाधान गर्ने तयारीमा थियौँ । तर, उहाँहरूले मान्नु भएन । अब हामी कडारुपमा प्रस्तुत हुन बाध्य भएका छौँ ।’

तर, व्यवसायीको देशभर बिक्री वितरण रोक्ने चेतावनी दिँदा पनि कम्पनीले भने उनीहरूका माग सम्बोधन गर्ने संकेत देखाएको छैन । सामसुङ नेपालका एक अधिकारीले आर्थिकन्युज डटकमसंग भने, ‘कम्पनीको आफ्नो पोलिसी हुन्छ । अरूले दिए भन्दैमा आफूले पनि दिइहाल्ने भन्ने हुँदैन । मार्जिन बढाउने विषयमा कम्पनी आफ्नो पोलिसीअनुसार चल्छ र त्यही अनुसार हामीले दिइरहेका पनि छौँ ।’ 

सामसुङ नेपालले व्यवसायीको माग सम्बोधन समयमै नगरे व्यवसायीहरू एकसाथ जस्तोसुकै कठोर निर्णय लिन बाध्य हुने उनीहरूले चेतावनी दिएका छन् ।  व्यवसायीहरू सुदूरपश्चिम प्रदेशबाट शुरु गरेको सामसुङ मोबाइल बिक्री वितरणमा लगाइएको रोक देशभर फैलाउने तयारीमा छन् । सुदूरपश्चिम प्रदेशका व्यवसायीले थालेको यो कदममा देशभरका व्यवसायीहरूले पनि समर्थन जनाएका छन् ।