शीर्षकहरू

आज एप्पलका नयाँ चार एआई सिरिज सार्वजनिक हुँदै, मूल्य कति पर्ला ?

आज एप्पलका नयाँ चार एआई सिरिज सार्वजनिक हुँदै, मूल्य कति पर्ला ?

काठमाडौं । आज प्रिमियर मोबाइल उत्पादक एप्पलले ‘ग्लोटाइम इभेन्ट २०२४’ आयोजना गर्दैछ । इभेन्टमा एप्पल इन्टेलिजेन्स सार्वजनिक हुने बताइएको छ । एप्पलको डिजिटल असिस्टेन्ट सिरीमा पनि जेनेरेटिभ आर्टिफिसियल इन्टेलिजेन्स (एआई)सहितको विशेष अपडेट आउने बताइएको छ ।

अमेरिकी समयअनुसार दिउँसो १ बजे हुने कार्यक्रममा कम्पनीले प्रयोगकर्ताले लेख र चित्र सिर्जना गर्नसकिने आर्टिफिसिएल इन्टेलिजेन्सयुक्त फोन सार्वजनिक गर्दैछ । पहिलोपटक एआई फिचरसहितका आइफोन १६ सिरिज सार्वजनिक हुन लागेका छन् । जसमा आइफोन १६, आइफोन १६ प्लस, आइफोन १६ प्रो र आइफोन १६ प्रोम्याक्स लन्च गर्ने तयारी गरिएको छ । यसै इभेन्टमार्फत् एप्पल एप्पल वाचको दशौँ अपग्रेड सिरिज १० पनि सार्वजनिक गर्न लागिएको छ ।

कम्पनीले सन् २०२० मा फाइभजी कनेक्टिभिटीसहितको आइफोन १२ सार्वजनिक गरेसँगै निरन्तर युवालाई लक्षित गरेर उन्नत फोन सार्वजनिक गर्दै आएको छ । पछिल्लो संस्करणको फोनमा उन्नत क्यामेरा रहेको, मानव आँखाले हेर्न नसक्ने कुरा पनि उच्च स्क्रिन रिजोलुसनसहित निर्माण गरिएको दाबी कम्पनीको छ ।

कम्पनीले नयाँ सिरिजको फोनमा भएका विशेषताहरूबारे पहिले नै जानकारी गराइसकेको छ । यस संस्करणको फोनले थप प्राकृतिक वार्तालापहरू सक्षम पार्ने, इमेलहरू ड्राफ्ट गर्न मद्दत गर्ने, फोटो एल्बमहरूमा विशिष्ट क्षणहरू फेला पार्न सजिलो बनाउने र युजरको व्यक्तिगत जानकारी समावेश हुने बताइएको छ । नयाँ आईफोनमा अपडेट गरिएको प्रोसेसर चिप प्राप्त गर्न सकिने पनि उल्लेख गरिएको छ । उच्च ब्याट्री लाइफसहित बढ्दो डाटा प्रोसेसिङ गर्न सकिने पनि कम्पनीले जानकारी गराएको छ । यो संस्करणको फोन विगत चार वर्षमा निर्माण भएका भन्दा विशेष र फरक रहेको पनि दाबी गरिएको छ ।

सोमबारको इभेन्टमा धेरैको मुख्य चासो कम्पनीले मूल्य कति निर्धारण गर्छ भन्ने रहेको छ । पछिल्लो संस्करणको आइफोनको शुरुवाती मूल्य ७९९ अमेरिकी डलर थियो । नयाँ संस्करणको फोन योभन्दा थप महँगो भएर आउने विश्लेषण धेरैको छ । सीएफआरए रिसर्चका एन्जेलो जिनोलगायत धेरै विश्लेषकहरूले नयाँ एआई फिचर र डेलिभरी लागतका कारण नयाँ संस्करणमा मूल्य वृद्धि भएर आउने बताएका छन् ।