शीर्षकहरू

पेट्रोलियम पदार्थको उत्पादन नहुने देशले इथानोलको उत्पादनमा जोड दिनुपर्छः डा. भट्ट

पेट्रोलियम पदार्थको उत्पादन नहुने देशले इथानोलको उत्पादनमा जोड दिनुपर्छः डा. भट्ट

काठमाडौं । नेपाल आयल निगमका कार्यकारी निर्देशक डा.चण्डिका प्रसाद भट्टले सरकार इथानोल उत्पादन र प्रयोगमा निकै अघि बढिसकेको बताएका छन् । पेट्रोलियम पदार्थमा इथानोल मिश्रणका लागि २०६० सालमा नै योजना बनेपनि विविध कारणले विलम्ब हुन गएकोमा पछिल्लो समय सरकारले यो कार्यान्वयनमा लैजाने पहल गरिसकेको उनले बताए । 

इथानोल उत्पादन र प्रयोगको सन्दर्भमा प्रस्तावसँगै कार्यविधि बनाउन पर्ने रहेकोमा उद्योग विभागले सो सम्बन्धी कार्यविधिका लागि स्वीकृति दिइसकेको उनले बताए । ‘अब केही समयमा नै इथानोल उत्पादनमा जान्छ । यो कुनै रकेट साइनस होइन’ उनले भने, ‘इथानोलको प्रयोगले दैनिक ४ लाख किलोलिटर इन्धनको खपत घटाउन सहयोग पुग्छ ।’ 

इथानोल उत्पादनमा धेरै उद्योगहरू तयार रहेकोमा २५ देखि ३० लाख रुपैयाँ लगानीमा नै इथानोल उत्पादनको प्लान्ट निर्माण गर्न सकिने उनले बताए । तर, वार्षिक उत्पादन परिमाण, खपत र मूल्यमा भने ख्याल गर्नुपर्ने उनले बताए । 

सन् २०२० मा नै पेट्रोलियम पदार्थको खपत हराएर जाने भनिए पनि अझैँ ठूलो माग रहेको उल्लेख गर्दै भट्टले यो अझैँ अगाडि जाने र पेट्रोलियम पदार्थको खपत कम गर्न इथानोल प्रयोगमा जोड दिनुपर्ने उनले बताए । 

अझ नेपाल जस्तो पेट्रोलियम पदार्थको उत्पादन नहुने देशले त इथानोलको उत्पादन र मिश्रणमा जोड दिनुपर्ने उनले धारणा राखे । ‘राज्य नीति बनाइ सकेको छ, इथानोल मिश्रणको निर्णय गरिसकेको छ, हामी उत्पादनमा जान्छौँ’ उनले भने ।