शीर्षकहरू

मुग्लिन–पोखरा सडक छिटो बनाउन मुख्यमन्त्रीको निर्देशन

मुग्लिन–पोखरा सडक छिटो बनाउन मुख्यमन्त्रीको निर्देशन

गण्डकी । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले निर्माणधिन मुग्लिन–पोखरा सडकको काम छिटो गर्न सरोकारावालालाई निर्देशन दिए । मुख्यमन्त्रीको कार्यालयमा आज आयोजित सरोकारवासँगको छलफलमा मुख्यमन्त्री पाण्डेले मुग्लिन–पोखरा सडक विस्तार र स्तरोन्नतिको काम सुस्त भएको भन्दै सहज रुपमा आवतजावत गर्ने गरी छिटो काम गर्न निर्देशन दिएका हुन । 

छलफलमा पोखरा महानगरपालिकाका प्रमुख, गण्डकी प्रदेशका प्रमुख सचिव, शुक्लागण्डकी नगरपालिकाका प्रमुख, कास्की र तनहुँका प्रमुख जिल्ला अधिकारी, सडक योजनाका प्रमुख, विद्युत प्राधिकरणका इकाई प्रमुख लगायतको उपस्थिति थियो । पुर्वीखण्डमा अहिले केही सहज भए पनि पश्चिम खण्डमा काम ढिलो हुँदा सर्वसाधारणले सास्ती पाएको र कुनै समस्या भए सरकारले सहजीकरण गर्ने उल्लेख गर्दै मुख्यमन्त्री पाण्डेले कामको गति छिटो बनाउन निर्देशन दिए ।

निर्माणाधि सडको पूर्वीखण्डमा ६४ प्रतिशत काम सकिएको छ भने पश्चिम खण्डमा ३० प्रतिशत मात्रै काम भएको छ । सरोकारवालाको छलफलले दोहोर कर हटाएर प्रदेश सरकारले निर्धारण गरेको रोयल्टी रकम नघट्ने गरी निर्माण सामग्रीमा कानुन बमोजिम एकमुष्ट रोयल्टी लिने निर्णय गरेको छ । 

अहिले स्थानीय तहपिच्छे रोयल्टी, करको दर फरक÷फरक हुँदा काममा समस्या भएको गुनासो निर्माण कम्पनीको थियो । सडक क्षेत्रमा पर्ने बिजुलीका पोल विद्युत प्राधिकरणले तत्काल स्थानान्तरण गर्ने, चाडपर्वको समय नजिकिएकाले सडक क्षेत्रमा खाल्टाखुल्टी पुरेर आयोजना कार्यालयले सवारी आवतजावत सहज बनाउने निणर्य बैठकले गरेको छ ।

पोखरा अन्तराष्ट्रिय विमानस्थलको प्रवेशद्वारदेखि सेती नदीको पुलसम्म बिजुली तार भूमिगत गर्ने कार्य तत्काल गरी दुई लेन सडक निर्माण गर्ने, निर्माण सामग्रीका बारेमा संम्बन्धित पालिकाले स्रोत जान्न पाउने लगायत पाँचवटा निर्णय भएको जनाइएको छ । छलफलमा निर्माण कम्पनीले अवको १५ महिनाभित्र काम सक्ने लक्ष्य लिएको जानकारी दिएको छ ।  

सडक विस्तार र निर्माणको काम छिटो गर्न आयोजना कार्यालय, निर्माण कम्पनीलाई काममा सहजिकरण गर्ने गरी विभिन्न पाँच वटा निर्णयसमेत गरिएको छ । स्थानीय उत्पादन तथा निर्माण सामग्रीको लागि प्रदेश सरकारले निर्धारण गरेको रोयल्टी वापतको शुल्क रकम सङ्कलन गर्ने क्रममा सम्बन्धित स्थानीय तहले फरक शीर्षकमा थप शुल्क रकम नलाग्ने गरी एकमुष्ट रुपमा प्रचलित कानुन बमोजिम रोयल्टी वापतको शुल्क रकम सङ्कलन गर्ने व्यवस्था मिलाउने बैठकले निर्णय गरेको छ ।

निर्माण सामग्री प्रशोधनका लागि निर्माण गरिएको प्लान्टमा सङ्कलन हुने निर्माण सामग्रीको सम्बन्धमा सम्बन्धित पालिकाले स्रोत बुझ्न चाहेको बखत उक्त सामग्रीको स्रोत सम्बन्धित पक्षले प्रमाणित गर्नुपर्ने, सडक निर्माणकार्यमा बाधा उत्पन्न नहुने गरी समयमा कार्य सम्पन्न गर्न सहजीकरण गर्न नेपाल विद्युत प्राधिकरणको तर्फबाट बिजुली पोल स्थानान्तरण गर्ने निर्णय गरिएको छ ।

त्यस्तै चाडपर्व तथा पर्यटकको आवागमनको कारण सडकमा चाप बढ्ने भएकाले मुग्लिन–पोखरा सडक योजना (पश्चिम खण्ड) मा वर्षातले बिगारेको सडक क्षेत्रमा खाल्टाखुल्टी पुर्ने लगायतका निर्णय गरिएको छ । बत्ती काट्ने समयको सूचना प्रकाशन गरी पोखरा–भरतपुर भूमिगत विद्युतिकरण आयोजनाको तर्फबाट पोखरा अन्तराष्ट्रिय विमानस्थलको प्रवेशद्वारादेखि सेती नदीको पुलसम्म बिजुली तार भूमिगत गर्ने काम यही भदौ मसान्तसम्ममा सम्पन्न गर्ने र तत्पश्चात आयोजनाको तर्फबाट उक्त क्षेत्रमा यथाशिघ्र न्यूनतम दुई लेन सडक निर्माणकार्य सम्पन्न गर्ने गराउने लगायतका निर्णय गरिएको मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयले जनाएको छ ।