काठमाडौं । पदभार ग्रहण गर्दै नेपाल टेलिकमका नवनियुक्त प्रबन्ध निर्देशक संगीता पहाडी अर्यालले पदको गरिमा र सबैको आफूप्रतिको विश्वासलाई उच्च प्राथमिकतामा राखेर संस्थालाई थप उचाइमा लैजान आफ्नो पूर्ण उर्जा खर्चिने प्रतिवद्धता जनाएकी छिन ।
नेपाल सरकार, मन्त्रिपरिषद्को भदौ २० गतेको निर्णय बमोजिम सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको भदौ २३ गतेको नियुक्ति पत्रबाट उनलाई कम्पनीको प्रबन्ध निर्देशक पदमा चार वर्षको पदावधि रहने गरी नियुक्त गरिएको छ ।
यस अघि नेपाल सरकार, सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको २०८० असोज ६ गते को निर्णय उनले सोही मितिदेखि कम्पनीको निमित्त प्रबन्ध निर्देशकको जिम्मेवारी सम्हाल्दै आएकी थिइन ।
नवनियुक्त प्रबन्ध निर्देशक संगीता पहाडी अर्यालले भारतको अलाहावाद युनिभर्सिटीबाट बीई र थाइल्याण्डको एसियन इन्स्टिच्युट अफ टेक्नोलोजीबाट एमई गेकी छिन । उनले २०४९ चैत्र २३ बाट तत्कालीन नेपाल दूरसञ्चार संस्थानमा इन्जिनियर पदमा अस्थायी नियुक्ति लिएर सेवा प्रवेश गरेकी हुन । विस २०५१ फाल्गुण १० मा कम्पनीको सेवामा स्थायी नियुक्ति लिएकी थिइन भने उनले २०७८ माघ १८ गते नायव प्रबन्ध निर्देशक पदमा नियुक्त भएकी हुन ।