शीर्षकहरू

कैलाश मानसरोवरको सहज यात्राका लागि महाकाली करिडोर

कैलाश मानसरोवरको सहज यात्राका लागि महाकाली करिडोर

कञ्चनपुर । सुदूरपश्चिम प्रदेशको समृद्धिको आधार मानिएको महाकाली करिडोर कञ्चनपुरको ब्रह्मदेवदेखि बैतडीको झुलाघाट हुँदै दार्चुलाको टिंकरसम्म पुग्छ। कुल ४२५ किलोमिटर लम्बाइको यो सडकले कञ्चनपुर, डडेल्धुरा, बैतडी र दार्चुला जिल्ला जोड्छ। 

यो सडक निर्माणपछि उक्त क्षेत्रमा बसोबास गर्ने करिब आठ लाख जनता प्रत्यक्ष लाभान्वित हुनेछन्। करिडोर निर्माणपछि चीनमा रहेको कैलाश मानसरोवर यात्रा सहज हुने अपेक्षा गरिएको छ। महाकाली करिडोरको ‘जिरो प्वाइन्ट’ मानिएको कञ्चनपुरको ब्रह्मदेवस्थित सिद्धवैजनाथ हुँदै कैलाश मानसरोवरसम्म पुग्नका लागि यो सबैभन्दा छोटो बाटो हुनेछ।

धार्मिक दृष्टिकोणले सुदूरपश्चिम देवभूमिका रुपमा परिचित छ। महाकाली करिडोरमा पर्ने कञ्चनपुरको सिद्धवैजनाथधाम, डडेल्धुराको परशुरामधाम, बैतडीको त्रिपुरासुन्दरी र दार्चुलाको मालिकार्जुनधाम हुँदै कैलाश मानसरोवर पुग्न सकिने भएकाले करिडार निर्माणपछि यहाँका धार्मिक पर्यटनको विकासमा सहयोग पुग्ने अपेक्षा गरिएको छ। चुरे महाभारत पर्वतअन्तर्गत डडेल्धुराको परशुराम नगरपालिकामा रहेको परशुरामधामसम्म भने ट्र्याक खुलिसकेको छ।

विसं १४७५ मा भारतको झारखण्डबाट विहार, कुमाउ कतुरकोट गरुडगोवती हुँदै सिद्धवैजनाथ बाबा परशुरामधाम आएर बसेको इतिहास छ। परशुरामधाममा रहँदा सिद्धवैजनाथ बाबा र त्यहाँका तत्कालीन राजा नागी मल्लबीच खटपट भएपछि उनी सो ठाउँ छाडेर बुड्डीमलास पीपलकोट हालको वेदकोट क्षेत्रमा आइ तपस्या गरेको विश्वास छ।

करिडोर त्रिपुरासुन्दरीको मन्दिरको फेद हुँदै राष्ट्रको सातौँ धामका रुपमा परिचित मालिकार्जुन हुँदै टिंकर पुग्नेछ। महाकाली करिडोर सञ्चालनमा आए व्यापारिक गतिविधिसँगै धार्मिक पर्यटन बढ्ने विश्वास लिइएको नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य जंगबहादुर मल्लको भनाइ छ।

‘कञ्चनपुर भारतसँग र दार्चुला चीनसँग जोडिएपछि यहाँ धार्मिक पर्यटकको सङ्ख्या अपेक्षा गरिएको छ । भारतको उत्तराखण्डसँग हाम्रो धार्मिक सम्बन्ध छ त्यसकारण त्यहाँको मानिस नेपाल आउन चाहन्छन्। उत्तराखण्डको हरिद्वार, ऋषिकेष र हिमाञ्चलमा आउने तेस्रो मुलुकका पर्यटकका लागि कैलाश मानसरोवरसम्म पुग्न यो सडक प्रयोग गर्न सक्नेछन्’, उनले भने । 

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जदेखि दार्चुलाको अपिनाम्पासम्म पुग्न पनि करिडोर निर्माणपछि सहज हुनेछ। मल्लले भने, ‘करिडोर निर्माणले मात्रै सुदूरपश्चिम प्रदेशको विकास सम्भव छ यसले चीनसँगको व्यापारको ढोका खोल्नेछ।’ उनी सुदूरपश्चिम घुम्न आउने पर्यटक शुक्लाफाँटा राष्ट्रिय निकुञ्जभित्र रहेको विशाल घाँसेमैदानमा दुर्लभ बाह्रसिङ्गाको झुण्ड अवलोकन गर्दै ब्रह्मदेव हुँदै दार्चुलाको अपिहिमालको फेदसम्म पुग्न सक्छन्। 

त्यसैगरी एसियाकै लामो दोधारा चाँदनी झोलुंगे पुल पर्यटकको अर्को आकर्षणको गन्तव्य हो। महाकाली करिडोर निर्माणपछि प्रदेशमा आन्तरिक तथा बाह्य पर्यटक बढ्ने बैतडीको पञ्चेश्वर गाउँपालिकाका अध्यक्ष गोरखबहादुर चन्दको विश्वास छ। बैतडीको प्रसिद्ध त्रिपुरासुन्दरी भगवती मन्दिर तथा देवदातलगायत धार्मिकस्थल पनि करिडोर नजिकै छन्।

बैतडीकै दशरथचन्द नगरपालिकामा ईश्वरी गंगाधाम, निङ्गलाशैनी मन्दिरलगायतका पर्यटकीयस्थल छन्। महाकाली करिडोरले बैतडीको शिवनाथ गाउँपालिका, पञ्चेश्वर गाउँपालिका, दशरथचन्द नगरपालिका र दोगडाकेदार गाउँपालिका गरी चार स्थानीय तहमा सुविधा पुर्‍याउनेछ।

बैतडीको दोगडाकेदार गाउँपालिकाका गणेश भट्टका अनुसार बैतडीका धार्मिकस्थलमा त भारतबाट अहिले पनि पर्यटक आइराखेका छन् तर सडक सञ्जालको सहज सुविधा भए पर्यटक बढ्ने थिए।

उनले सुदूरपश्चिमको आर्थिक समृद्धिका रुपमा आफूहरुले महाकाली करिडोरलाई लिइएको बताए। नेपालकै गहिरो पतालभुवनेश्वर गुफा, मेलौली भगवती मन्दिर, रौलाकेदार, भिटाकेदार, उदयदेव मन्दिर, सिँगास, त्रिवेणीधाम, डिलाशैनी मन्दिरलगायतको विकासमा पनि करिडोर सहयोगी हुने उनले उल्लेख गरे। 

करिडोर निर्माण जति सक्दो चाँडो भयो त्यति नै चाँडो दार्चुलाको विकास हुने व्यास गाउँपालिका १ तिंकरका विनोद बुढाथोकीले बताए। उनका अनुसार नेपाल र चीनको सीमाना ताक्लाकोटमा रहेको पिल्लर नं १ देखि कैलाश मानसरोवर पुग्न आधा दिन मात्रै लाग्छ। ुयो नाकाबाट एक दिनमै कैलाश मानसरोवर दर्शन गरेर फर्किन सकिन्छ, यसले धार्मिक पर्यटक बढाउने छ, त्यसका लागि यहाँसम्म पुग्नका लागि पहिलो करिडोर निर्माण हुन जरुरी छु, उनले भने।

नेपाल सरकारका गृहमन्त्री रमेश लेखकले सरकारले दार्चुलाको टिंकरमा अध्यागमन कार्यालय स्थापना गर्ने तयारी गरिरहेको बताएका छन्। उनले त्रिदेशीय नाकाका रुपमा यसलाई विकास गर्न सके व्यापारिक, धार्मिक लाभ हुने विचार व्यक्त गरे।

करिडोरको निर्माण विसं २०६६ देखि सुरु भएको हो। कुल ४२५ किलोमिटरमध्ये ३३४ किलोमिटर सडक महाकाली लोकमार्ग आयोजना कार्यालय र ७९ किलोमिटर सडक नेपाली सेनाले निर्माण गरिरहेको छ।

कञ्चनपुरको ब्रह्मदेवदेखि डडेल्धुराको परशुरामसम्मको ११ किमी सडकको ट्र्याक खुलेर सञ्चालनमा आइसकेको छ। ब्रह्मदेवदेखि दार्चुलाको तुसारपानीसम्म तीन सय ३४ किमी करिडोर सडकको ट्र्याक खोल्ने काम महाकाली करिडोर सडक योजनाले गरिरहेको छ। जसमध्ये हालसम्म दुईसय ४२ किमी ट्र्याक खुलिसकेको छ। रासस