शीर्षकहरू

बालमन्दिर माध्यामिक विद्यालयका विद्यार्थी चौरमा पढ्न बाध्य

बालमन्दिर माध्यामिक विद्यालयका विद्यार्थी चौरमा पढ्न बाध्य

हुम्ला । शनिबारको अविरल वर्षाका कारण कक्षाकोठामा पानी पसेपछि  सदरमुकाममा रहेको बालमन्दिर माध्यामिक विद्यालयका विद्यार्थी आज चौरमा पढ्न बाध्य भएका छन् । कक्षा १, ३ र ५ का ऐच्छिक विषय पढ्ने विद्यार्थीलाई आज चौरमा राखेर पठनपाठन गराउन बाध्य भएको प्रधानाध्यापक कैलाश रोकायाले बताए । 

राति आएको वर्षाले कक्षा कोठाभरि पानी पसेपछि चौरमा पठनपाठन गराएको उनले जानकारी दिए । वर्षायाममा पानी पर्दा यी कक्षाका विद्यार्थीले प्रायः जसो चौरमा पठनपाठन गर्दै आउनु परेको विद्यालय प्रशासनले जनाएको छ । 

“हरेक वर्ष वर्षायाममा यस्तै समस्या दोहोरिने गरेको छ । यस विषयमा स्थानीय सिमकोट गाउँपालिकाको ध्यानाकर्षसमेत गराइएको छ । राती पानी पर्दा कक्षाकोठामा पानी पसेर असर गर्दा दिउँसो विद्यार्थीलाई खुल्ला आकाशमुनिको चौरमा पठनपाठन गराउँदा बजारको होहल्लाले समस्या हुने गरेको छ”, प्रधानाध्यापक रोकायाले भने । 

यस्तै, सिमकोट गाउँपालिका–७ जबुका गाउँस्थित डाँडाफयाको खेल बस्तीदेखि औल बस्तीसम्म आवतजावत गर्ने जबुका खोलाको बाटो अवरुद्ध हुँदा समस्या भएको स्थानीयले जनाएका छन् ।