शीर्षकहरू

आफूखुसी शुल्क नलिन सर्भेयरहरुलाई निशाको आग्रह

आफूखुसी शुल्क नलिन सर्भेयरहरुलाई निशाको आग्रह

काठमाडौं । बीमा सर्भेयर संघ नेपाल (निशा) ले आफूखुसी सर्भे शुल्क नलिन सदस्य सर्भेयरहरुलाई आग्रह गरेको छ । संघले शनिबार एक सूचना जारी गर्दै सबै नेपाल बीमा प्राधिकरणको मध्यस्थतामा बीमक संघसँग सर्भे शुल्कको विषयमा छलफल भै रहेकोले व्यक्तिगत रुपमा शुल्क तय गरी कुनै बीमा कम्पनीसँग काम नगर्न आग्रह गरेको हो । 

बीमक र सर्भेयर बीच सर्भे शुल्कको विषयमा पछिल्लो पटक गत भदौ २० गते प्राधिकरणमा छलफल भएको थियो । प्राधिकरणको सहजीकरणमा भएको सो छलफलमा बीमकहरुले केही सर्भेयरहरुले अहिले खाई पाई आएको शुल्क भन्दा पनि कम शुल्कमा काम गरी रहेको दाबी गरेपछि सर्भेयर संघ आक्रोशित भएको हो । त्यस्तै, छलफलमा कम्पनीहरूले सर्भेयरहरुले शुल्क अहिलेको भन्दा पनि कम प्रस्ताव गरेपछि छलफल बिना निष्कर्ष टुङ्गिएको थियो । 

बीमा सर्भेयर संघ नेपाल र नेपाल बीमक संघका बीच २०७२ साल चैत २१ गते सर्भे शुल्कको विषयमा द्विपक्षीय सहमति भएको थियो । सहमति अनुसार २०७३ वैशाख १ गते देखि कार्यान्वयन भएको थियो । सो सहमति अनुसार प्रत्येक दुई वर्षमा शुल्क परिमार्जन गर्नुपर्ने थियो । तर, आठ वर्ष बितिसक्दा पनि शुल्क परिमार्जन नभएपछि सर्भेयर संघले गत वैशाखमा नयाँ शुल्क सहितको शुल्क परिमार्जन गर्न नेपाल बीमक संघलाई प्रस्ताव गरेको थियो । 

तर, संघले हालसम्म खाई पाइ आएको शुल्क भन्दा पनि कम हुने गरी नयाँ शुल्क निर्धारण गरी साउन देखि कार्यान्वयन गर्न सबै कम्पनीहरूलाई पत्राचार समेत गरेको थियो । बीमक संघले खाइ पाइ आएको शुल्क भन्दा पनि कम शुल्क तोकेपछि सर्भेयर संघले प्राधिकरणलाई गुहारेको थियो । पछिल्लो पटक गत भदौ २० गते भएको छलफलमा बीमक संघका प्रतिनिधिले शुल्क झनै घटाउने मनसाय राखेपछि सहमति हुन नसकेको सर्भेयर संघका अध्यक्ष मोहन पुरुष ढकालले बताए । ‘कम्पनीका प्रतिनिधिले आठ वर्ष अघि तोकिएको शुल्क पनि घटाउने कुरा गर्नुभयो । कम्पनीहरूमा हेपाहा शैली देखियो,’ उनले भने । 

प्राधिकरणका प्रवक्ता सुशील देव सुवेदीले भने दुवै पक्ष सहमतिमा नआएपछि छलफल निष्कर्षमा पुग्न नसकेको बताए । ‘हामीले फेरी तपाईहरु आफै  छलफल गरी आउनुहोस् भनेका छौ,’ उनले भने  । 

सर्भेयर र बीमकसंघ बीचको सर्भे शुल्कको समस्या धेरै पुरानो हो । यस अघि पनि शुल्कको विषयमा सहमति हुन नसक्दा सर्भेयरहरुले १९ दिन काम ठप्प पारेका थिए ।