शीर्षकहरू

प्राधिकरणले डलर साट्ने सुविधा नदिएपछि पुनर्बीमा ब्रोकर कम्पनी संकटमा

प्राधिकरणले डलर साट्ने सुविधा नदिएपछि पुनर्बीमा ब्रोकर कम्पनी संकटमा

काठमाडौं । नेपाल बीमा प्राधिकरणले डलर साट्ने सुविधा नदिएपछि पुनर्बीमा ब्रोकर कम्पनी संकटमा परेका छन् । विदेशी बीमा तथा पुनर्बीमा कम्पनीलाई भुक्तानी गर्ने बाटो नै नखुलाइ दिएपछि ब्रोकर कम्पनीहरू संकटमा परेका हुन् । 

बीमा प्राधिकरणले २०७९ सालमा एकै पटक १५ वटा ब्रोकर कम्पनीलाई सञ्चालन अनुमति दिएको थियो । ऐन बमोजिम पुनर्बीमा ब्रोकर कम्पनीले स्वदेशी तथा विदेशी बीमा कम्पनी बीच मध्यस्थकर्ता भै काम गर्न पाउँछन् । 

विदेशी कम्पनीको मध्यस्थताको काम गर्दा ब्रोकर कम्पनी आफैले बीमा शुल्क भुक्तानी गर्नुपर्ने हुन्छ । तर, भुक्तानी पठाउन लागि उनीहरूसँग डलर साट्ने सुविधा नभएको ए वान पुनर्बीमा ब्रोकर कम्पनीका प्रमुख कार्यकारी अधिकृत नरेश श्रेष्ठले बताए । ‘मध्यस्थकर्ता अधिकांश अवस्थामा हामीले भुक्तानी गर्नुपर्ने हुन्छ । तर, हामीसँग भुक्तानी गर्नका लागि डलरको सुविधा छैन,’ उनले भने । 

यस अघिको व्यवस्था अनुसार नेपाली बीमा कम्पनीहरू आफैले विदेशी पुनर्बीमा वा बीमा कम्पनीसँग कारोबार गर्थे । बीमा कम्पनीहरूको हकमा भने प्राधिकरणले सिफारिश गरेपछि राष्ट्र बैँकले डलर साट्ने सुविधा दिएको छ । तर, सोही प्रकृतिको कामको लागि भने प्राधिकरणले ब्रोकर कम्पनीलाई सुविधा नदिएको उनले गुनासो गरे  । ‘यस विषयमा हामीले प्राधिकरणलाई धेरै पटक भनी सक्यौ । उहाँहरू हुन्छ भन्नुहुन्छ । दुई वर्ष बितिसक्यो काम भने हुँदैन,’ श्रेष्ठले बताए । 

प्राधिकरणले डलर साट्ने सुविधा नदिएपछि नेपाली ब्रोकर कम्पनीले अन्य विदेशी कम्पनीहरूसँग सहयोग लिएका छन् । जस बापत उनीहरुले प्राप्त कमिसनको आधा रकम उनीहरुलाई बुझाउनु परेको छ । 

प्राधिकरणले मात्रै नभएर नेपाली बीमा कम्पनीहरूले नेपाली ब्रोकर कम्पनीलाई नै विश्वास नगरेको अर्का एक ब्रोकर कम्पनीका कर्मचारीले बताए । ‘बीमा कम्पनीले हामीलाई विश्वास नै गर्दैनन्, त्यसैले व्यवसाय पनि खासै छैन । कार्यालय खोल्नु मात्रै भएको छ । कम्पनीहरूले मुद्दती खातामा जम्मा भएको पुँजीको ब्याज खाएर मात्रै बसेका छन्,’ उनले भने । 

व्यवसाय नभएकै कारण आधा भन्दा बढी कम्पनीले त कार्यालय नै औपचारिक रुपमा खोलेका छैनन् । खोलेका कम्पनी पनि सञ्चालनमा धौ धौ भएको उनले बताए । ‘ब्रोकर कम्पनीका कर्मचारी पनि पलायन भै सके,’ उनले भने । 

तर, प्राधिकरणका प्रवक्ता एबम् निर्देशक सुशील देव सुवेदीले भने नेपाल राष्ट्र बैँकको ऐन अनुसार बैंक तथा बीमा कम्पनीलाई मात्रै डलर साट्न दिने सुविधा रहेछ । अन्यको हकमा भने निश्चित सीमा तोकेको छ । त्यसैले ब्रोकर कम्पनीले डलर साट्न नपाएको उनले बताए । ‘यस विषयमा हामीले केन्द्रीय- बैँकलाई पत्राचार गरी रहेका छौ,’ उनले भने ।