काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले टिकटकमाथिको प्रतिबन्ध हटाएको छ ।
टिकटकमाथिको प्रतिबन्ध हटाउन सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले पत्र पठाएसँगै प्राधिकरणले टिकटकमाथिको प्रतिबन्ध हटाएको हो । गत ६ भदौमा सरकारले शर्तसहित टिकटकमाथिको प्रतिबन्ध हटाउने निर्णय गरे पनि प्रतिब्नध कायमै थियो ।
हालै टिकटकको सिंगापुरस्थित कार्यालयबाट आएका तीन जना प्रतिनिधिसँग सञ्चार मन्त्रालयले छलफल गरेको थियो । टिकटकले सबै शर्त मान्न तयार रहेको प्रतिबद्धता गरेपछि प्रतिबन्ध हटाउन प्रक्रिया अघि बढाइएको थियो ।
सरकारले टिकटकसँग नेपालमा अनिवार्य दर्ता हुनुपर्ने,टिकटकले डिजिटल सुरक्षा साक्षरताका लागि लगानी गरी नेपाली नागरिकको साक्षरता दर बढाउन मद्दत गर्नुपर्ने, सार्वजनिक शिक्षालाई गुणस्तरीय बनाउन सहयोग गर्नुपर्ने र सामाजिक सञ्जालमा प्रयोग हुने भाषामा संवेदनशीलता अपनाउनुपर्नेलगायतका शर्त राखेको थियो ।
गत वर्ष कात्तिक ७ गते बसेको मन्त्रिपरिषद् बैठकले सामाजिक सद्भाव बिगार्ने काम भएको भन्दै टिकटकमाथि प्रतिबन्ध लगाउने निर्णय गरेको थियो ।