शीर्षकहरू

टिकटकमाथिको प्रतिबन्ध हटाउन प्राधिकरणलाई सञ्चार मन्त्रालयको पत्र

टिकटकमाथिको प्रतिबन्ध हटाउन प्राधिकरणलाई सञ्चार मन्त्रालयको पत्र

काठमाडौं । टिकटकमाथिको प्रतिबन्ध हटाउन सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले नेपाल दूरसञ्चार प्राधिकरणलाई पत्र पठाएको छ । सञ्चार मन्त्रालयका प्रवक्ता गजेन्द्र कुमार ठाकुरले प्राधिकरणलाई प्रतिबन्ध फुकुवा गर्न भन्दै पत्र पठाएको जानकारी दिए ।

६ भदौमा सरकारले शर्तसहित टिकटकमाथिको प्रतिबन्ध हटाउने निर्णय गरेको थियो । त्यसपछि टिकटकको सिंगापुरस्थित कार्यालयबाट आएका तीन जना प्रतिनिधिसँग सञ्चार मन्त्रालयले छलफल गरेको थियो । टिकटकले सबै शर्त मान्न तयार रहेको प्रतिबद्धता गरेपछि प्रतिबन्ध हटाउन लागिएको हो ।

सरकारले टिकटकसँग नेपालमा अनिवार्य दर्ता हुनुपर्ने,टिकटकले डिजिटल सुरक्षा साक्षरताका लागि लगानी गरी नेपाली नागरिकको साक्षरता दर बढाउन मद्दत गर्नुपर्ने, सार्वजनिक शिक्षालाई गुणस्तरीय बनाउन सहयोग गर्नुपर्ने र सामाजिक सञ्जालमा प्रयोग हुने भाषामा संवेदनशीलता अपनाउनुपर्नेलगायतका शर्त राखेको थियो ।

गत वर्ष कात्तिक ७ गते बसेको मन्त्रिपरिषद् बैठकले सामाजिक सद्‍भाव बिगार्ने काम भएको भन्दै टिकटकमाथि प्रतिबन्ध लगाउने निर्णय गरेको थियो ।