शीर्षकहरू

नेपाल टेलिकमको प्रबन्ध निर्देशकमा संगीता पहाडी

नेपाल टेलिकमको प्रबन्ध निर्देशकमा संगीता पहाडी

काठमाडौं । सरकारले नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) को प्रबन्ध निर्देशकमा संगीता पहाडी अर्याललाई नियुक्त गरेको छ ।

बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले उनलाई टेलिकमको प्रबन्ध निर्देशकमा नियुक्ति गर्ने निर्णय गरेको हो । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले २०८० असोज १७ गते पहाडीलाई कम्पनीको प्रबन्ध निर्देशक पदमा अर्को व्यवस्था नभएसम्मका लागि निमित्त प्रबन्ध निर्देशक नियुक्त गरेको थियो ।

निमित्तको जिम्मेवारीमा रहेकी पहाडीलाई नै प्रबन्ध निर्देशक नियुक्त गर्ने निर्णय सरकारले गरेको हो । तत्कालीन प्रबन्ध निर्देशक सुनील पौडेल भ्रष्टाचार मुद्दामा मुछिएपछि सरकारले पहाडीलाई निमित्त प्रबन्ध निर्देशकको जिम्मेवारी दिएको थियो ।

३१ वर्षदेखि टेलिकममा कार्यरत पहाडीले  भारतको अलाहावाद युनिभर्सिटीबाट बीई र थाइल्यान्डको एसियन इन्स्टिच्युट अफ टेक्नोलोजीबाट एमई गरेकी छन् । उनले २०४९ चैत २३ गते तत्कालीन नेपाल दूरसञ्चार संस्थानमा इन्जिनियर पदमा अस्थायी नियुक्ति लिएर सेवा प्रवेश गरेकी थिइन् । २०५१ फागुन १० गते स्थायी नियुक्ति पाएकी थिइन् ।