काठमाडौं । गत साउन ९ गते काठमाडौँबाट पोखराका लागि उडेको सौर्य एयरलाइन्सको जहाज दुर्घटनाबारे गठित जाँचबुझ समितिले प्रारम्भिक प्रतिवेदन बुझाएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणका पूर्वमहानिर्देशक रतिशचन्द्र लाल सुमनको अध्यक्षतामा गठित आयोगले बिहीबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेलाई प्रतिवेदन बुझाएको हो ।
प्रतिवेदनमा जहाज दुर्घटनाको मुख्य कारणमा जहाजको तौल सन्तुलन नमिलेको, टेकअफको गति,उडान अनुमति प्रक्रिया, मानवीय पक्ष र उडान सुरक्षा प्रणालीको कमजोरीलाई देखाइएको छ । विस्तृत परीक्षण (सि–चेक) का लागि पोखरा उडेको उक्त जहाजमा कम्पनीका प्राविधिक कर्मचारीबाहेकका यात्रु सवार रहेको विषयमा भने जाँचबुझ समितिले कुनै विषय उठान गरेको छैन ।
आवश्यक प्राविधिक कर्मचारीबाहेक एयर होस्टेसलाई समेत उडाउन नमिल्ने उक्त उडानमा उड्डयन सुरक्षाको नियम अनुसार कम्पनीका प्राविधिकका नाबालक छोरा र श्रीमतीलाई समेत उडाउँदा एउटा परिवारका तीनै जनाले ज्यान गुमाउनु परेको थियो । प्राविधिक श्रीमान्सँगै घुमघामका लागि पोखरा उडेका महिला र उहाँका नाबालक छोरालाई सौर्य एयरलाइन्सले उडान अनुमति दिएको विषयबारे भने जाँचबुझ समिति मौन बसेको छ ।
त्यस्तै जहाज दुर्घटनापछि भएको आगलागी निभाउन विमानस्थलमा तैनाथ रहेका दमकल चार मिनेटमै दुर्घटनास्थलमा पुगेर आगलागी निभाएको प्रतिवेदनमा दाबी गरिएको छ तर तत्काल परिचालन हुनुपर्ने दमकल समयमै दुर्घटना स्थलमा पुग्न नसकेको जनगुनासो र दुर्घटनास्थलतर्फ जाँदा हिलोमा फसेर सर्वसाधारणले धकेल्नु परेको अवस्थालाई भने समितिले एक मिनेटमै परिचालन भएको दाबी गरेको छ ।
१८ जनाको ज्यान जाने गरी भएको उक्त दुर्घटनाका कारणमा पाइलटले जहाज टेकअफका व्रmममा अस्वाभाविक हाई पिच लिएको (टेकअफपिचको गति प्रतितीन डिग्री प्रतिसेकेन्ड हुनुपर्नेमा ८.६ डिग्री देखिएको) रिपोर्ट उल्लेख छ ।