शीर्षकहरू

युक्रेनसँग वार्ता गर्न रुस तयार छ : पुटिन

युक्रेनसँग वार्ता गर्न रुस तयार छ : पुटिन

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले बिहीबार युक्रेनसँग वार्ता गर्न तयार रहेको बताएका छन् । भ्लाडिभोस्टक सहरमा रुसको पूर्वी आर्थिक मञ्चमा प्रश्नोत्तर सत्रमा उनले रुस वार्ताका लागि तयार रहेको बताए ।

“हामीले वार्ता गर्न कहिल्यै अस्वीकार गरेका छैनौँ । केही अल्पकालीन मागहरूका आधारमा नभई इस्तानबुलमा सहमति भएको दस्तावेजहरूका आधारमा वार्ता गर्न तयार छौँ”, उनले भने । 

तर सन् २०२२ मा इस्तानबुलमा मस्को र किएभका वार्ताकारहरूबीच रद्द भएको सम्झौताका आधारमा वार्ता हुनुपर्ने उनको भनाइ छ । उक्त सम्झौता के थियो भन्ने हालसम्म सार्वजनिक भएको छैन, न त सम्झौताका कार्यान्वयन भएको छ ।

मस्कोले युक्रेनमा आक्रमण सुरु गरेलगत्तै रुस र युक्रेन सन् २०२२ को वसन्तमा एउटा सम्झौताको नजिकमा पुगेको क्रेमलिनले बारम्बार दाबी गरेको छ ।“हामी एउटा सम्झौतामा पुग्न सफल भयौँ, कुरा यही हो, उक्त दस्तावेजमा हस्ताक्षर गर्ने युक्रेनी प्रतिनिधिमण्डलका प्रमुखको हस्ताक्षरले यसको प्रमाण दिन्छ, यसको अर्थ युक्रेनी पक्ष सामान्यतया सम्झौताहरूबाट सन्तुष्ट थियो”, उनले भने, “उनीहरूलाई यस्तो नगर्न आदेश दिइएकाले सम्झौता लागू भएन । किनकि संयुक्त राज्य अमेरिका, युरोप, केही युरोपेली मुलुकहरू रुसको रणनीतिक हार हासिल चाहन्थे ।”

यसअघि कुर्स्क क्षेत्रमा किएभको आक्रमण जारी रहेको बेला उनले वार्ता अस्वीकार गरेका थिए। युक्रेनले अगस्टमा रुसको कुर्स्क क्षेत्रमा अभूतपूर्व सीमा पार आक्रमण सुरु गरेर हजारौँ सैनिकलाई सीमापार पठाएर धेरै गाउँ कब्जा गरेको थियो । त्यसलगत्तै पुटिनले कुनै वार्ता हुन नसक्ने बताएका थिए ।