शीर्षकहरू

प्रधानमन्त्री र अर्थमन्त्रीको कृपाले एउटै व्यक्ति तेस्रो पटक विरगन्ज भन्सारको डिजी

प्रधानमन्त्री र अर्थमन्त्रीको कृपाले एउटै व्यक्ति तेस्रो पटक विरगन्ज भन्सारको डिजी

काठमाडौं । झापाका रामप्रसाद पाठक तेस्रो पटक विरगन्ज भन्सार प्रमुख नियुक्त भएका छन् । प्रधामन्त्री केपी ओली र अर्थमन्त्री विष्णु प्रसाद पौडेलको  कृपाले उनी तेस्रो पटक पनि भन्सार कार्यलयको प्रमुख नियुक्त भएका हुन् । पाठक वर्तमान प्रधानमन्त्रीको मात्रै हैन यस अघिका प्रधानमन्त्रीको पनि प्रिय पान हुन्  । 

प्रमुख पाठकलाई भन्सार कार्यलयमा अनियमितता गरेको आरोप लाग्दै आएको छ । त्यति मात्रै हैन प्रमुख पाठकलाई तत्कालिन प्रधानमन्त्री पुष्पकमल दाहालको छोरी गंगा दाहालको निर्देशनमा करौडौंको राजस्व छलेको आरोप लागेको छ । तत्कालिन प्रधानमन्त्री दाहालकी सुपुत्रीकी प्रिय पात्र पाठकलाई वर्तमान ओली सरकारले समेत पुरस्कृत गरेको छ ।

अर्थमन्त्री बिष्णु पौडेलको दबावमा पाठकलाई प्रधानमन्त्री ओलीले रसुवाबाट बिरगंज भन्सार पठाएका हुन् । यस अघि मेची भन्सार कार्यलयमा बसेर अनैतिक रुपमा आर्थिक उपार्जन गर्दै आएका पाठकले वर्तमान सरकारलाई समेत नजराना चढाएकै भरमा रसुवाबाट बिरगंज भन्सार पुगेको उनका निकटबर्तीहरु नै बताउँछन् । 

पाठक रसुवा नाकाका प्रमुख बनेर आएपछि नै उनको कार्यशैली राम्रो नभएको भन्दै व्यवसायीले कारोवार नै वन्द गरेका थिए । कोहीसँग पनि समन्वय नगर्ने र आफ्नो मनोमानी ढंगले चल्ने गरेको उनलाई आरोप लाग्दै आएको छ । उक्त भन्सार कार्यालयबाट सन्तोषजनक काम नभएको चर्चा त्यतिवेला सिंहदरबारस्थित अर्थमन्त्रालयमा समेत पुगेको थियो । त्यतिबेला नै पाठकको कार्यशैली प्रति उद्योगी तथा व्यवसायीहरु मात्रै नभएर कर्मचारीहरु पनि असन्तुष्ट थिए । 

यसअघि पनि अर्थमन्त्री डाक्टर रामशरण महतले लेनदेनकै आधारमा रसुवा भन्सार प्रमुख बनाएको आरोप छ । प्रमुख पाठक र माओवादीका सांसद माधव सापकोटाका व्यापारिक पार्टनर  इश्वर गुभाजुको सामान यार्डमै खोलेर मिलाइदिएको, प्रतिकन्टेनर ५० हजारका दरले असुल गरेको, क्यारिङवालासँग मिलेर अर्थमन्त्रीलाई पैसा बुझाउनुपर्छ भन्दै ठूलो रकम उठाइरहेको बिषय अख्तियारसम्म पुगेको छ । अख्तियारले यसलाई छानबिनको दायरमा ल्याएको थियो ।

तिनै पाठक केपी ओली सरकारमा आएपछि वीरगञ्ज भन्सार कार्यलय प्रमुख नियुक्त भएका छन् । रसुवा भन्सारमा १६ महिना बसेपछि उनी वीरगञ्ज पुगेका हुन् । पाठक रसुवा जानुअघि मेची भन्सार काँकडभिट्टाका प्रमुख थिए । उनी निरन्तर आकर्षक अड्डा पाउने भाग्यशाली दरिएका छन् । 

पाठक अहिले झापाली एमालेका कार्यकर्ता भन्दै बिरंगञ्ज पुगेका हुन् । रसुवा जाँदा  उनी अर्थका हर्ताकर्ता सेवन्तक पोखरेल र महानिर्देशक शोभाकान्त पौडेललाई मोटो रकम दिएर मेचीबाट रसुवामा जम्प गर्न सफल भएका थिए । रसुवा जाँदा उनी तत्कालिन मन्त्री प्रकाशशरण महत र मोहन बस्नेतका आफन्त व्यापारीहरुसँग मिलेर मनग्ये कमाउने मध्येमा पर्छन् । 

आफू निकटका जाँचकीहरुलाई अगाडि सारेर सेटिङ गर्न खप्पिस पाठकले सामानको मूल्याङ्कनमा पक्षपात गर्ने गरेको व्यापारीहरुको आरोप छ । साथै कार्यलयको सबै काममा हस्तक्षेप गर्ने गरेको कर्मचारीहरुको गुनासो छ । यो कार्यमा शाखा अधिकृत रविन्द्र प्याकुरेल र सुब्बा जाँचकी अर्जुन गौतमहरुको समूहले चीनतर्फबाट आयात भएका सामानहरु चेक जाँचको बाहनामा स्याम्पल बढी निकाल्ने, गुणस्तर फरक फरक परेको भन्दै जरिवनाको त्रास देखाएर रकम माग गर्ने गरेको स्रोत बताएको छ । 

एक ट्रक जुत्ता ल्याउदा झण्डै २० लाख राजश्व उठ्छ । तर उनले ठूला व्यापारीसँग १२ लाख र साना व्यापारीहरुसँग २२ लाखसम्म असुल्ने गरेको स्रोतले बताएको छ । पाठकको यस्तो कार्यशैलीको विरुद्धमा व्यापारीहरुले तत्कालिन अर्थमन्त्री महत र भन्सार विभागका प्रमुखसँग गुनासो गरेका थिए । 

चीनबाट आयात भएका ब्रान्डेड सामानलाई कमसल घोषणा गरी भन्सार छली हुँदै आएको यो नाकामा माथिसम्मका कर्मचारीहरुसँगको मिलेमतोमा पाठकले दैनिक भन्सार यार्डमै व्यापारीसँग मोलमोलाई गर्थै । साथै उनीहरुले सेटिङ नमिलेका व्यापारीहरुलाई अनावश्यक दुःख दिएर हैरानी पार्ने गरेको पिडित व्यापारीहरुले गुनासो गरेका छन् । व्यापारीहरुले आयात गरेको एउटै प्रकृति र मूल्यका सामानहरुलाई समेत विभिन्न प्रकारको भन्दै पाठकले जरिवना तिराउने चेतावनी दिँदै रकम असुली गर्ने गरेको पिडित व्यवसायीको आरोप छ ।

पाठककै पालामा प्रज्ञापनपत्रमा एउटा सामान लेखेर भेप आउने गरेको भेटिएको थियो । भन्सार विभागको अनुगमनमा जाँचपास भइसकेको गाडी चेकजाँच गर्दा भेप भेट्टाएको थियो । भेप बोकेको उक्त गाडी रसुवा भन्सार कार्यालय टिमुरेबाट पास भएर धुन्चे पार गरिसकेको थियो । गाडी धुन्चे पार गरिसकेपछि भन्सार विभागको टोली अनुगमनमा आएको सूचना तस्करले पाएपछि पुनः भन्सार कार्यालय टिमुरेमै फर्काइएको थियो ।

प्रज्ञापनपत्रमा अर्कै सामान लेखिएको भए पनि गाडीमा भेप भेटिएको थियो । यस्तै सोही नाकाबाट लागू औषधमा प्रयोग हुने १ सय ५० किलो कच्चापदार्थ समेत बरामद भएको थियो ।