शीर्षकहरू

आधा पुनर्बीमा ब्रोकर कम्पनी सञ्चालकको झोलामा

आधा पुनर्बीमा ब्रोकर कम्पनी सञ्चालकको झोलामा

काठमाडौं । नेपाल बीमा प्राधिकरणले लाइसेन्स दिएका आधा पुनर्बीमा ब्रोकर कम्पनी सञ्चालकको झोलामा थन्किएका छन् । अनुमति पाएको दुई वर्षसम्म पनि कम्पनीहरू औपचारिक रुपमा सञ्चालनमा आएका छैनन् । 

प्राधिकरणले २०७९ सालमा एकैपटक १५ वटा पुनर्बीमा ब्रोकर कम्पनीलाई सञ्चालन अनुमति दिएको थियो । ट्रस्ट बीमा ब्रोकर, एसटीसी पुनर्बीमा ब्रोकर, फेडरल पुनर्बीमा ब्रोकर, हब पुनर्बीमा ब्रोकर, ग्लोबल बीमा एण्ड पुनर्बीमा ब्रोकर, एलियन्ट बीमा ब्रोकर, शुभ पुनर्बीमा सर्भिस, एवान पुनर्बीमा ब्रोकर, एलिड बीमा ब्रोकर, जेवि बोडा बीमा एण्ड पुनर्बीमा ब्रोकर, लर्ड बुद्ध पुनर्बीमा ब्रोकर कम्पनी, श्रीधर बीमा ब्रोकर, फ्रस्ट पोलिसी बीमा, मार्भल पुनर्बीमा ब्रोकर र सिनर्जी रिइन्स्योरेन्स कम्पनीले प्राधिकरणले लाइसेन्स पाएका थिए । तर, आधा कम्पनीहरूले अहिलेसम्म कार्यलय समेत खोलेका छैनन् । 

प्राधिकरणबाट सञ्चालन अनुमति लिएकामध्ये एवान पुनर्बीमा ब्रोकर, फेडरल पुनर्बीमा ब्रोकर, हब पुनर्बीमा ब्रोकर, एसटिसि पुनर्बीमा ब्रोकर, ट्रस्ट बीमा ब्रोकर, एलिड बीमा र मार्भल रिइन्स्योरेनस ब्रोकर, शुभ रिइन्स्योरेन्स, जेबी बोडा कम्पनीले मात्रै कार्यलय स्थापना गरी व्यवसाय सञ्चालन गरी रहेका छन् । बाँकी कम्पनीहरू भने सञ्चालकको झोलामा थन्किएको प्राधिकरणका एक अधिकारीले बताए । 

बीमा ऐनले बीमा व्यवसायको मध्यस्थकर्ताको लागि पुनर्बीमा ब्रोकर कम्पनी स्थापना गर्न सकिने व्यवस्था गरेको छ । ऐनमा भएको व्यवस्था अनुसार प्राधिकरणले एकै पटक १५  वटा कम्पनीलाई सञ्चालन अनुमती दिएको थियो । कम्पनी सञ्चालनको लागि प्राधिकरणले पुनर्बीमा दलाल (ब्रोकर) सम्बन्धी निर्देशिका २०७८ समेत जारी गरेको छ । 

निर्देशिका अनुसार पुनर्बीमा दलाल संगठित संस्था हुनुपर्नेछ । कम्पनीहरूले प्राधिकरणलाई त्रैमासिक प्रतिवेदन पेश गर्नुपर्नेछ । पुनर्बीमा सम्झौता बमोजिम जोखिमको कारणले उत्पन्न हुन सक्ने दायित्व सम्बन्धी विवरण, इजाजतपत्र लिँदा समिति समक्ष पेश गरेको विवरण वा तथ्यमा भएको परिवर्तन सम्बन्धी विवरण, आफुले कारोबार गरेको बीमक तथा पुनर्बीमकको विवरण, कारोबार विवरण लगायतका अन्य विवरणहरू पेश गर्नुपर्नेछ । 

त्यस्तै, प्राधिकरणले बीमा दलालको काम कारवाहीको जुनसुकै बेला निरीक्षण वा छानबिन गर्न सक्ने निर्देशिकामा उल्लेख गरिएको छ । तर, प्राधिकरणले दुई वर्षको अवधिमा कुनै पनि ब्रोकर कम्पनीले निरीक्षण नगरेको एक ब्रोकर कम्पनीका प्रमुखले बताए । ‘कम्पनीहरू व्यवसाय गर्न भन्दा पनि होल्ड गर्नका लागि लाइसेन्स लिएको हुनसक्छ,’ उनले भने ।

तर, प्राधिकरणका अधिकारीहरू भने बजारको आकार सानो हुँदा कम्पनीहरू निष्क्रिय भएको दाबी गर्छन् । ‘नेपालको बीमा बजार सानो छ । तर, ब्रोकर कम्पनीको संख्या धेरै भयो । व्यवसाय नपाएर पनि निष्क्रिय भएको हुन सक्छ,’ उनले भने । निष्क्रिय भएका कम्पनीलाई पनि खारेज गर्न सक्ने कानुनी प्रावधान नभएको उनले बताए । 

प्राधिकरणले जारी गरेको निर्देशिका अनुसार पुनर्बीमा दलालको अधिकृत पूँजी १० करोड रुपैयाँ हुनुपर्नेछ । अधिकृत पूँजीको ५० प्रतिशत चुक्ता पूँजीको रुपमा कायम गर्नुपर्नेछ । पूँजीमध्ये अधिकृत पूँजीको २५ प्रतिशत रकम समितिबाट एअर मार्क गराई वाणिज्य बैंकको मुद्दति खातामा राख्नुपर्नेछ । अधिकृत पूँजी तथा चुक्ता पूँजीसम्बन्धी अन्य व्यवस्था समितिले समय समयमा तोकेबमोजिम हुनेछ । त्यस्तै, विदेशी ब्रोकर कम्पनीको हकमा क वर्गको वाणिज्य बैंकमा सेक्युरिटी डिपोजिट बापत ५० हजार अमेरिकी डलर जम्मा गर्नुपर्ने व्यवस्था छ ।