शीर्षकहरू

बीमा सम्बन्धी विवादमा मेलमिलापको अधिकार अध्यक्षलाई, ६० दिन भित्र मेलमिलाप गराईसक्नुपर्ने

बीमा सम्बन्धी विवादमा मेलमिलापको अधिकार अध्यक्षलाई, ६० दिन भित्र मेलमिलाप गराईसक्नुपर्ने

काठमाडौं । बीमा सम्बन्धी कुनै पनि विवादको मेलमिलापको अधिकार नेपाली बीमा प्राधिकरणका अध्यक्षलाई दिइएको छ । बीमा ऐन २०७९ को दफा १३ बमोजिम मेलमिलाप तथा मध्यस्थता सम्बन्धी कार्यविधि २०८१ जारी गर्दै मेलमिलापको अधिकार अध्यक्षलाई दिइएको हो । 

कार्यविधि अनुसार प्राधिकरणले मेलमिलाप तथा मध्यस्थता समिति निर्माण गर्नुपर्नेछ । समितिको संयोजक प्राधिकरणका अध्यक्ष रहने छन् । समितिको सदस्यमा प्राधिकरणका कार्यकारी निर्देशक, प्राधिकरणको कानुन तथा नियमन महाशाखा प्रमुख, प्राधिकरणको उजुरी शाखाको प्रमुख रहने छन् भने अध्यक्षले तोकेको उजुरी शाखाको एकजना अधिकृत सदस्य सचिव रहने व्यवस्था गरिएको छ ।  यस अघि भने प्राधिकरणमा परेको उजुरीको मेलमिलापको जिम्मा प्राधिकरण्को सञ्चालक बोर्ड दिइएको थियो । 

कार्यविधि अनुसार बीमकले बीमालेखमा उल्लेखित अवधिभित्र बीमितलाई बीमा दाबी भुक्तानी नगरेमा मेलमिलापको लागि प्राधिकरणमा उजुरी दिन सकिनेछ । त्यस्तै, दायित्व निर्धारण नगरेको वा बीमितिलाई मर्का पर्ने गरी दायित्व निर्धारण गरेमा, बीमक वा निजको कुनै सञ्चालक, पदाधिकारी, कर्मचारी, बीमा मध्यस्थकर्ता वा अन्य बीमा सेवा प्रदायकले कुनै बीमितको हक हित विरुद्ध कुनै कार्य गरेमा, बीमक, बीमा मध्यस्थकर्ताहरु बिच नै कुनै विवाद उत्पन्न भई आपसी समझदारीमा निरुपण हुन नसकेमा प्राधिकरणमा मेलमिलापको लागि उजरी दिन सकिनेछ । 

मेलमिलापका लागि समितिले दुवै पक्षलाई बोलाएर छलफल गराउने सक्नेछ । आवश्यक देखेमा प्रमाणका लागि कागजपत्रको माग गर्न सक्नेछ । तर, ६० दिन भित्रमा मेलमिलाप प्रक्रिया पुरा गरी सक्नुपर्ने कार्यविधिमा उल्लेख गरिएको छ ।