काठमाडौं । इजरायलको दीर्घकालिन स्याहार केन्द्रमा सहायक कामदार (केयरगिभर) का लागि परेको आवेदनमाथिको छानबिन प्रतिवेदन आज बुझाइँदैछ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले गरेको छानबिन प्रतिवेदन आज मन्त्री शरदसिंह भण्डारीलाई बुझाइने तयारी छ ।
छानबिनका लागि मन्त्रालयका उपसचिव मेघनाथ रिमालको संयोकत्वमा पाँच सदस्यीय समिति गठन भएको थियो । उक्त समितिले आज साँझसम्म मन्त्रालयलाई प्रतिवेदन बुझाउँने तयारी गरेको हो।
गत असार ११ गतेदेखि साउन ११ गतेसम्म वैदेशिक रोजगार विभागले केयरगिभरका लागि आवेदन खुलाएको थियो । विभागमा परेको आवेदनमा नक्कली प्रमाणपत्र पेश भएको आंशका गरिएपछि मन्त्रालयले छानबिन गर्न समिति बनाएको हो । समितिले विभागमा परेका सबै आवेदनमाथि छानबिन गरेको समितिले जनाएको छ । समितिका अनुसार शैक्षिक प्रमाणपत्र, तालिमको प्रमाणपत्र, प्रमाणपत्र उपलब्ध गराउने तालिम प्रदायक संस्थाको विश्वसनियता र संस्थाले लिएको सम्बन्धको मिति लगायतका विषयमा छानबिन गरिएको छ । छानबिनमा केही थोरै आवेदनमा कैफियत देखिएको समितिले जनाएको छ ।
समितिले बुधबार मात्रै छानबिन प्रतिवेदन बुझाउने तयारी गरेको छ । तर, इजरायलले भने विभागले पठाएको आवेदनबाट लक्की ड्र गरी गत साता नै दुई हजार २०२ जना नेपाली कामदारलाई छनोट गरेको छ । इजरायलको जनसङ्ख्या तथा अध्यागमन प्राधिकरण (पीबा) ले लक्की ड्रमार्फत नेपाली कामदारको छनोट गरे पनि वैदेशिक रोजगार विभागलाई भने आधिकारिक जानकारी भने नआएको विभागका इजरायल/जापान हेर्ने शाखा निर्देशक गिरिराज ज्ञवालीले बताए । ‘हामीले पनि बाहिरबाट सुनेको हो । तर, आधिकारिक जानकारी भने आएको छैन,’ उनले भने । आधिकारिक जानकारी नआएपछि विभागले छनोट भएका कामदारको नाम पनि सार्वजनिक गरेको छैन ।
छानबिन प्रतिवेदन नआउँदै इजरायलले कामदारको छनोट गरेपछि छानबिन प्रतिवेदन कार्यान्वयन हुने वा नहुने भन्ने विषयमा भने अन्योल देखिएको छ । प्रतिवेदन कार्यन्वयनको विषयमा भने मन्त्रालयले नै निर्णय गर्ने निर्देशक गिरिराज ज्ञवालीले बताए । ‘इजरायलले आफनो तर्फबाट काम सकेको हो । मन्त्रालयको प्रतिवेदन कार्यन्वयन हुने/नहुने भन्ने विषय मन्त्रालयले निर्णय गर्नेछ,’ उनले भने ।
छानबिन समितिका संयोजक एवम् मन्त्रालयका उपसचिव रिमालले छानबिन समितिले कैफियत देखिएमा लक्की ड्र्बाट छनोट भएका कामदारको निवेदन पनि रद्द हुने बताए । ‘विभागले नोटिस जारी गर्दा नै आवेदनमा कुनै कैफियत देखिए कुनै पनि बेला रद्द हुने उल्लेख गरेको हुन्छ,’ उनले भने ।
इजरायलको केयरगिभरका लागि चार हजार २४ जनाको आवेदन परेको थियो । जसमा दुई हजार २०९ पुरुष र एक हजार ८१५ महिला रहेका थिए । आवेदनमध्ये विभागले तीन हजार ४६१ को आवेदन स्वीकृत गरेको छ । जसमा एक हजार ८६३ पुरुष र एक हजार ५९८ महिला रहेका छन् । विभागले ३२१ वटा (१९७ पुरुष र १२४ महिला) को आवेदन अस्वीकृत गरेको थियो । कागजान नपुगेका २४२ (१४९ पुरुष, ९३ महिला) को आवेदन अस्वीकृत भएको थियो । विभागले तीन हजार ४६१ (एक हजार ८६३ पुरुष, एक हजार ५९८ महिला) को आवेदन नेमचेकका लागि इजरायल पठाएको थियो ।